केन्यामा बस आक्रमणमा २८ को मृत्यु

  • 22 नोभेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption यात्रुवाहक बसमा चढेका गैरमुसलमानहरुलाई छानेर हत्या गरिएको जनाइएको छ

सोमालीयाको इस्लामवादी उग्रवादी समुह अलसबाबले उतरपूर्वी केन्यामा एउटा यात्रुवाहक वसमा सवार २८ जनाको हत्या गरेको बताएको छ।

६० जना यात्रु चढेको सो बस राजधानी नैरोबी तर्फ आउने क्रममा मन्डेरा काउन्टिबाट अपहरणमा परेको थियो।

एउटा वक्त्व्यमा अल सबाब समूहले केन्याली सुरक्षाकर्मीहरुले हालै तटिय शहर मोम्बासामा मुसलमानहरुको हत्या गरेको भन्दै त्यसको विरोधमा आफूहरुले उक्त आक्रमण गरेको बताएको छ।

सन् २०११ मा केन्याली सैनिकहरु सोमालियामा पठाइएयता केन्यामा भएका श्रृखलाबद्ध बन्दुक तथा बम आक्रमणहरुमा अलसबाब संल्गन रहेको आरोप लाग्दै आएको छ।

क्षति

सन् २०११ मा सोमालियामा केन्याली फौजहरु पठाइएपछि केन्यामा भएका श्रृंखलावद्ध बन्दुक र बम हमलाहरुमा अल सबाबको हात रहेको आरोप लगाइदैँ आएको छ।

केन्याको आन्तरिक मामिला मन्त्रालयले आफ्नो ट्विटरमा शनिबार बिहान आक्रमणमा परेको उक्त बसमा ६० जना यात्रु रहेको जनाएको हो।

एक जना अधिकारीले केन्याली डेली नेसन समाचारपत्रलाई दिएको जानकारी अनुसार हमलाकारीले कुरान वाचन गर्न नसक्ने व्यक्तिहरुलाई छानेर हत्या गरेका थिए।

स्थानीय रेडक्रसले घटनास्थलबाट मृतकको शव संकलन गर्ने कोसिस गरिरहेको बताइएको छ।

केन्याको सरकारले हमलाकारीहरुलाई ‘डाँकुहरु’ भनेर व्याख्या गरेको छ र सुरक्षा निकायहरुले उनीहरुको खोजी गरिरहेको जनाइएको छ।

तनाव

एक जना स्थानीय अधिकारीले सो क्षेत्रमा आक्रमणको जोखिम रहेको विषय सरकारलाई पटक पटक सचेत गराइएपनि थप सुरक्षाकर्मी उपलब्ध नगराइएकाले ठूलो मानवीय क्षति भएको बताए।

अल सबाब समूहले तटीय शहर मोमबासामा गराएका श्रृखंलावद्ध आक्रमणहरुपछि पछिल्लो घटना भएको हो।

सुरक्षा निकायले उक्त शहरका मस्जिदहरुमा हतियारहरु राखिएको भन्दै खानतलासी गरेका थिए जसको प्रतिशोधमा मुसलमान युवाहरुले आक्रमण गरेका थिए।

मन्डेरामा गएको जुनमा अल सबाबसँग सम्बन्धित दुई धर्म गुरुको हत्या गरिएपछि तनाव उत्पन्न भएको थियो।

स्थानीयवासीले ती ध्रमगुरु उक्त समूहसँग आवद्ध नरहेको बताएका छन्।