६ मार्गबाट नेपाल सार्क रेलसञ्जालमा जोडिने

  • 22 नोभेम्बर 2014
saarc
Image caption सार्क सम्मेलनमा रेलवेसहित तीन वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ

चार दिनपछि काठमान्डुमा हुने सार्क शिखर सम्मेलनका क्रममा गर्ने भनिएको क्षेत्रीय रेलवे सम्झौताले ६ वटा बाटोबाट नेपाललाई क्षेत्रीय रेल सञ्जालमा जोड्न सकिने अधिकारीहरुले बताएका छन्।

यसपटक उक्त सम्झौताको खाकामा हस्ताक्षर हुने र त्यसको आधारमा गठन हुने संयन्त्रले नेपाल जोड्ने ती मार्गसहित क्षेत्रीय रुटहरुबारे औपचारिक टुंगो लगाउने जनाइएको छ।

सन् २००८ यता औपचारिक रुपमा उक्त सम्झौताको मस्यौदामाथि छलफल भएपनि हालसम्म त्यसमा हस्ताक्षर हुन सकेको थिएन।

मार्ग

प्रस्तावित सम्झौताको खाकाको भाषा करिब दुई महिनाअघि भारतको दिल्लीमा भएको सहसचिवस्तरीय वार्ताले टुंग्याइसकेको छ।

खाकामा सार्कका ‍आठैवटा सदस्य मुलुकहरुबीच यात्रुवाहक र मालवाहक रेल सञ्चालन गर्ने परिकल्पना गरिएको छ।

उक्त खाकामा हस्ताक्षर भएपछि नेपाललाई विभिन्न आधा दर्जन मार्गबाट भारत हुंदै प्रस्तावित क्षेत्रीय रेल सञ्जालमा जोड्न बाटो खुला हुने अधिकारीहरुले बताएका छन्।

ती मार्गबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले भने, “सार्कसंग सम्बद्ध रुटहरुमा सिलगडी-कांकडभिट्टा, जोगबनी- विराटनगर-कटहरी, जयनगर-जनकपुर-बर्दिवास, रक्सौल-वीरगन्ज, भैरहवा-सुनौली र नेपालगञ्जबाट भारतीय सिमानासम्म छन्”।

अपेक्षा

ती मध्ये पनि विराटनगर र जनकपुरसंग जोडिएका रेल मार्गको निर्माण तथा विस्तारका लागि काम सुरु भइसकेको बताइएको छ।

तत्कालका लागि भने हाल कायम रहेका रेलमार्गबाटै नेपालसहित दक्षिण एसियाली मुलुकहरुलाई जोडिने अधिकारीहरुले बताएका छन्।

तर त्यसका लागि पनि पूर्वाधारमा सुधार गर्नुपर्ने भएकाले क्षेत्रीय रेल सञ्जालको अवधारणाले साकार रुपमा पाउन अझ केही वर्ष लाग्न सक्ने अधिकारीहरु ठान्छन्।

यातायात सचिव सिटौला भन्छन्, “रेलवे ट्रयाक सबै मुलुकमा समान चौडाइका छैनन्। त्यसले समस्या सिर्जना गरेको छ,”।

रेल सम्झौतासंगै सार्क सदस्य राष्ट्रहरुबीच सडकमार्गबाट यात्रुबस तथा ट्रकहरु आवातजावत गर्ने सम्बन्धमा पनि यसपटक सम्झौता हुने अधिकारीहरुले बताएका छन्।

सबैभन्दा न्यून एकीकृत क्षेत्र भनी दक्षिण एसियाको आलोचना भइरहेका बेला पछिल्ला सम्झौताहरुले सदस्य मुलुकहरुबीच सम्पर्क विस्तारमा मद्दत गर्ने धेरैले अपेक्षा गरेका छन्।