बम हमलाकारीद्वारा ४५ जनाको हत्या

  • 23 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption उक्त आक्रमणमा अन्य ५० घाइते भएका छन्

पूर्वी अफगानिस्तानमा एउटा भलिबल प्रतियोगिता भैरहेको स्थानमा गराइएको आत्मघाति बम बिस्फोटनमा कम्तीमा ४५ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

पाकटिका प्रान्तका गभर्नरका प्रवक्ताले बीबीसीलाई बताए अनुसार खेल हेर्न जम्मा भएका मानिसको भिडबाट एक जना आत्मघाती बम हमलाकारीले विस्फोटन गराएका थिए।

पछिल्लो आक्रमण अफगानी तल्लो सदनले अमेरिकी र नेटो सम्बद्ध सैनिकहरुलाई थप समय बस्न दिने निर्णय गरेपछि आएको हो।

अधिकारीहरुका अनुसार उक्त आत्मघाती विस्फोटनमा अन्य ५० जना घाइते भएका छन्।

आक्रमण

जिल्लास्तरीय भलिबल प्रतियोगिताको फाइनल खेल हेर्न सयौँ मानिसहरु जम्मा भएको बेला सो बिस्फोटन भएको थियो।

अहिलेसम्म आक्रमणको कसैले जिम्मा नलिएपनि तालेबानहरुले उक्त हमला गराएको आशंका गरिएको छ।

अर्को महिनाको अन्त्यसम्ममा अधिकांश विदेशी सैनिकहरुलाई फिर्ता गरेपनि अमेरिकी र उतर एटलान्टिक सन्धि संगठन (नेटो) सम्बद्ध सैनिकहरुलाई रहन दिने निर्णय अफगानिस्तानको तल्लो सदनले गरे लगत्तै पछिल्लो आक्रमण भएको हो।

अब नयाँ नेटो फौजमा झन्डै १२ हजार सैनिकहरु रहने बताइएको छ।

उनीहरुलाई अफगान सुरक्षा निकायहरुलाई तालिम, सल्लाह र सहयोग उपलब्ध गराउने जिम्मेवारी दिइएको छ।

अफगानिस्तानमा खटिने अलग्गै अमेरिकि फौजले अलकायदाको बाँकी अवषेससँग लड्ने जिम्मेवारी पाएको छ।

शनिबार सार्वजनिक भएका खबरहरु अनुसार अमेरिकी फौजहरुले तालेबान बिरुद्ध लड्ने र अफगानी सैनिकहरुलाई हवाई सहयता उपलब्ध गराउने जिम्मा पनि पाएका छन्।

नेटो र अमेरिकासँग गरिएका समझदारीहरुलाई अफगानिस्तानको माथिल्लो सदनले अनुमोदन गर्नुपर्नेछ।