'मोदीको भ्रमण काठमाण्डुमै सीमित'

  • 23 नोभेम्बर 2014
तस्वीर कपीराइट Getty
Image caption पहिलो नेपाल भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले नै जनकपुर र लुम्बिनि भ्रमण गर्ने घोषणा गरेका थिए

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सार्क शिखर सम्मेलनमा भाग लिन नेपाल आउने क्रममा जनकपुर, लुम्बिनी र मुक्तिनाथको भ्रमण नगर्ने भारतीय विदेश मन्त्रालयले जनाएको छ।

आइतबार दिल्लीमा पत्रकार सम्मेलन गरी विदेश मन्त्रालयले त्यस्तो जानकारी दिएको हो।

उनी यसअघि जनकपुर, लुम्बिनी र मुक्तिनाथ जाने इच्छा व्यक्त गरेका थिए र त्यसै अनुसारको तयारी पनि गरिएको बताइएको थियो।

तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता सैय्यद अकबरुद्धिनले भनेका छन्, "देशभित्रको पूर्व निर्धारित भ्रमण तालिका र अपरिहार्य घरेलु प्रतिवद्धताहरुका कारण प्रधानमन्त्रीले सार्क सम्मेलनमा सहभागी हुन काठमाण्डुको मात्र भ्रमण गर्नु हुनेछ।"

अपेक्षा

प्रवक्ताले प्रधानमन्त्री जनकपुर, लुम्बिनी र मुक्तिनाथ लगायत नेपालका अन्य ठाउँको जति सक्दो चाँडै भ्रमण गर्ने अवसरको अपेक्षामा रहेको पनि उल्लेख गरेका छन्।

खासगरी जनकपुर भ्रमणलाई लिएर नेपालका दलहरुबीच तीव्र मतभेद देखा परेको थियो।

जनकपुर र लुम्बिनीमा उनलाई गरिने नागरिक अभिनन्दन र त्यसको प्रतिउत्तर स्वरुप उनले गर्ने सम्बोधनलाई लिएर चर्को विवाद देखा परेको थियो।

जनकपुरस्थित जानकी मन्दिरको दर्शन गरेपछि मोदीको अभिनन्दन र उनले सम्बोधन मन्दिर परिसरमै गर्ने कार्यक्रम रहेको बताइएको थियो।

कुटनीति

तर एकीकृत नेकपा-माओवादी लगायतका विपक्षीहरुको गठबन्धनले त्यसको विरोध गर्दै बाह्र बिगहा मैदानमै ती कार्यक्रम गरिनु पर्ने माग गर्दै विरोधका उत्रिएका थिए।

छिमेकी देशका प्रधानमन्त्रीको भ्रमणलाई लिएर मुलुकभित्रका दलहरुबीच सडकमै देखिएको पौठाजोरीको धेरै आलोचना गरेका थिए।

उक्त विवादका माझ विपक्षीको व्यवहारका कारण भारतले मोदीको जनकपुर भ्रमण रद्द गरेको भन्दै यातायात मन्त्री विमलेन्द्र निधिले विज्ञप्ति जारी गरेपछि विपक्षी बन्द-हडतालमै उत्रिएका थिए।

पछि सरकारले बाह्र बिगहामै सम्बोधनको व्यवस्था मिलाउने तयारी गरेको भन्ने खबरका माझ आन्तरिक विवाद सुल्झिएको जस्तो देखिएको थियो।

भारत सरकारको ताजा निर्णयले ती सबै विवाद अहिलेका निम्ति टरेका छन्।

तर धार्मिक भ्रमण गर्ने मोदीको इच्छा र भारत सरकारको पछिल्लो निर्णयका आन्तरिक कारणबारे टिका-टिप्पणी एवं व्याख्या-विश्लेषण केहीदिनसम्म जारी रहने ठानिएको छ।