‘आणविक वार्ता लम्बिन सक्ने’

  • 24 नोभेम्बर 2014
तस्वीर कपीराइट REUTERS
Image caption वार्ता लम्ब्याउने शक्ति राष्ट्रहरुको प्रस्तावबारे इरानको धारणा आउन बाँकी रहेको बताइएको छ

यसअघि तोकिएको समयसीमाभित्र सहमतिमा पुग्ने संभावना नदेखिएको भन्दै शक्ति राष्ट्रका वार्ताकारहरुले इरानको आणविक कार्यक्रमसम्बन्धी वार्ता लम्ब्याउने लगायतका विषयमा वार्ता केन्द्रित भएको बताएका छन्।

निर्धारित समयसीमा अनुसार सोमबारसम्म सहमति भईसक्नुपर्ने वार्ताकारहरुले बताए।

भियनामा जारी वार्तामा अझै खाडल देखिएको कुटनीतिज्ञहरुले जनाएका छन्।

उनीहरुका अनुसार अन्तरिम खाकामा मात्र सहमति जुट्न सक्छ।

गैरसैनिक

संयुक्त राष्ट्रसंघीय प्रतिबन्धहरु फुकुवा गर्नका निम्ति इरानले आफ्नो आणविक कार्यक्रम नियन्त्रण गर्नुपर्ने अमेरिका, ब्रिटेन, रुस, चीन, जर्मनी र फ्रान्सको शर्त छ।

इरानले आफ्नो आणविक कार्यक्रम हतियार निर्माणका लागि नभई ऊर्जाका लागि भएको दोहोर्याउँदै आएको छ।

आफ्नो आणविक कार्यक्रम नितान्त शान्तिपूर्ण र गैरसैनिक प्रयोजनका लागि तयार पारिएको उसको भनाई रहिआएको छ।

बृहत्त सम्झौता अझ धेरै टाढाको विषय देखिएकोले आईतबार सांझ ६ राष्ट्र र इरानका विदेशमन्त्रीहरुले वार्ता लम्ब्याउने विषयमा छलफल गरिरहेको बताए।

प्रतिबन्ध

मुख्यतः इरानको युरेनियम प्रशोधन कार्यक्रमको भविष्य र राष्ट्रसंघीय प्रतिबन्ध फुकुवाको समयसीमालाई लिएर मतभेद देखिएको छ।

अमेरिकी विदेश मन्त्रालयका एकजना वरिष्ठ अधिकारीले पत्रकारहरुलाई भने, “सहमतितर्फ बढ्ने कुरामा हाम्रो ध्यान केन्द्रित छ। तर सहमतिका लागि तोकिएको समयसीमा सकिन २४ घण्टामात्र बाँकी रहँदा हामीले विभिन्न विकल्पबारे छलफल गरिरहेका छौं। त्यसमध्ये वार्ता लम्ब्याउने विकल्प पनि एउटा हो।”

यसअघि इरानी वार्ता टोलीका एकजना सदस्यलाई उद्धृत गर्दै त्यहाँको समाचार संस्थाले सोमबारसम्म पूर्ण सहमति हुन असम्भव रहेको जनाएको थियो।