सहमतिका आधारमा संविधान बनाउ: मोदी

  • 25 नोभेम्बर 2014
Image caption भारतीय प्रधानमन्त्रीले माघ ८ भित्रै संविधान जारी गरिसक्नुपर्नेमा जोड दिएका छन्

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भावी संविधान बहुमतका आधारमा नभइ सहमतिका आधारमा जारी गरिनुपर्नेमा जोड दिएका छन्।

नेपाली काँग्रेस र नेकपा एमाले सहितका सत्तापक्षीय दलहरुले दुई तिहाई समर्थन सहित ल्याएको प्रस्ताव संविधानसभामा लैजान नदिएर एकीकृत माओवादी नेतृत्वका विपक्षी दलहरुले संविधान लेखन प्रकृया अवरुद्ध पारेको आरोप लगाइरहँदा मोदीको पछिल्लो धारणा आएको हो।

उनले माघ ८ गते भित्रै संविधान जारी गरिसक्न नेताहरुलाई आग्रह गरेका छन्।

सहमति

सार्क सम्मेलनमा भाग लिन काठमाण्डूमा ओर्लिएपछि भारत सरकारको सहयोगमा बनेको ट्रमा सेन्टर हस्तान्तरण गर्न अयोजित कार्यक्रममा सम्बोधन गर्दै मोदीले हप्तौँ देखी गोलचक्करमा अल्झिएको नेपाली राजनीतीलाई एकै झड्कामा तंरगित बनाइदिए।

दुई तिहाई बहुमत पुर्याएका सतारुढ दलहरुले संविधान निर्माणलाई प्रकृयागत रुपमा अगाडि बढाउन जोड दिइरहेका बेला आफ्नो आधा घण्टा लामो भाषणमा मोदीले संख्याको बलमा नभइ सहमतिकै आधारमा संविधान जारी गरिनुपर्ने कुरा दोहोर्याएर उल्लेख गरे।

“म नेपालको सबै राजनीतिक नेताहरुलाई आग्रह गर्छु संविधानको निर्माण सहमतिबाटै गर्दा फाइदा हुन्छ, संख्याको आधारमा संविधान निर्माण गर्नाले कहिल्यै पनि नेपालको भलो हुदैँन।”

उनले एक पटक संविधान सहमतिमा बनेपछि संसदले आवश्यकता अनुसार दुई तिहाइ बहुमतले संसोधन गर्न मिल्ने उल्लेख गर्दै पहिलो प्रारुपमा नै विमत्ती भए नेपालले निक्कै ठूलो कठिनाइको सामना गर्नुपर्ने बताए।

खुसी

एकीकृत माओवादी र तराइ केन्द्रित दलहरु सम्मिलित विपक्षी गठबन्धनले बहुमतका आधारमा नभई सहमतिकै आधारमा संविधान लेखन अघि बढाउनुपर्ने जोड दिइरहेका बेला आएको यस्तो भनाईले निश्चय पनि विपक्षी गठबन्धनलाई खुसी तुल्याउनेछ।

असहमतिका विच बनाइने नयाँ संविधानले नेपाललाई अप्ठेरो तर्फ धकेल्न सक्ने चिन्ता व्यक्तगर्दै उनले नामै तोकेर माओवादी , मधेशी र पहाडी सबैले अपनत्व महसुस गर्ने गरि नयाँ संविधान जारी गरिनुपर्ने उल्लेख गरे।

उनले भने, “ कहिल्यै मधेशीलाई लाग्नुहुँदैन की हाम्रो कुरा सुन्ने को छ , कहिल्यै पहाडीलाई लाग्नुहुदैँन कि हाम्रो कुरा सुन्ने को छ, त्यस्तै माओवादीलाई पनि लाग्नुहुँदैन हाम्रो कुरा सुन्ने को छ? यो संविधान यस्तो हुनुपर्छ जसमा जो कोहिको अवाज होस, जो कोहीको सपना होस र जो कोहीलाई काम गर्ने अवसर होस।”

अघिल्लो नेपाल भ्रमणका बेलामा नेपालको संघिय लोकतान्त्रीक गणतन्त्र प्रति आफ्नो समर्थन रहेको बताएका भारतीय प्रधानमन्त्रीले दोस्रो पटकको आफ्नो नेपाल भ्रमणमा संविधान लेखनमा भैरहेको विलम्बप्रति चिन्ता व्यक्त गरे।

मोदीले विश्वनाथको भूमीबाट पशुपतिनाथमा आउँदा आफूलाई त्यति प्रार्थाना गर्ने हक भएको नम्रतापूर्वक बताएपनि नेपालमा धेरैले संविधान निर्माणबारे उनले जोडदार रुपमा प्रस्तुत गरेको दृष्टिकोणलाई प्रत्यक्ष हस्तक्षेपका रुपमा व्याख्या गर्नेछन्।