सम्झौता कार्यान्वयन प्रति मोदी सन्तुष्ट

  • 25 नोभेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption यसअघि साउनमा भारतीय प्रधानमन्त्रीले नेपालको पहिलो भ्रमण गरेका थिए

सार्क सम्मेलनका निम्ति नेपाल आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साउनमा आफ्नो पहिलो भ्रमणका बेला गरेका वाचाहरु पूरा हुन थालेको भन्दै त्यसको निम्ति नेपालको सरकार, राजनीतिक दल तथा कर्मचारीतन्त्रको खुलेर प्रशंसा गरेका छन्।

मंगलबार काठमाण्डौंमा राष्ट्रिय ट्रमा सेन्टर हस्तान्तरण गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले साउनमा उनले संविधानसभामा सम्बोधन गर्दा गरेका सहयोगका वाचाहरुको कार्यान्वयनमा भएका प्रगतिको विस्तृत विवरण दिए।

श्रेय

दुई देशबीचको उर्जा व्यापार सम्झौता अनि ९/९ सय मेगावाटका माथिल्लो कर्णाली तथा अरुण तेस्रोको आयोजना विकास सम्झौता हुनुको श्रेय उनले नेपाललाई दिए।

“म, आदरणीय प्रधानमन्त्री ज्यू, उनको सरकार सबै राजनीतिक दल तथा प्रशासनका अधिकारीहरुको भारतको तर्फबाट हृदयबाटै अभिनन्दन गर्न चाहन्छु। यदी उनीहरुले काम नगरेको भए आज सयदिन भित्र यो पच्चीस तीस वर्षदेखि अड्किएको काम पूरा हुन सक्दैनथ्यो। म आज निकै सन्तोषको अनुभव गरिरहेको छु। नेपालको खुशी र नेपालको आनन्द हाम्रो मुस्कानको कारण बन्छ,” उनले भने।

सम्बोधनको क्रममा उनले धेरै जोड नेपालको उर्जा विकासमै दिए।

वर्तमानमा नेपालमा भइरहेको "लोड शेडिंग"को समस्या समाधान गर्नेतर्फ संकेत गर्दै उनले भारतले थप १२५ मेगावाट बिजुली दिने र अझै ठूला क्षमताको प्रसारण लाइन निर्माण भइरहेको बताए।

“प्रसारण लाइन बलियो बनाउने काम कम समयमा पूरा हुनेछ। त्यसबाट थप १२५ मेगावाट बिजुली यहाँ आउनेछ। यति मात्र होइन, एउटा नयाँ लाइन तयार भइरहेको छ जसको क्षमता एक हजार मेगावाट हुनेछ। अब नेपाल जगमगाउनेछ,” मोदीको भनाई थियो।

खुशी

आफुले साउनमा वाचा गरेको एक अर्ब डलरको सहुलियतपूर्ण ऋणको सदुपयोगको काम पनि हुन लागेको भन्दै उनले खुशी जनाए।

नेपाल र भारतबीच आवतजावत गर्ने जसकसैले निकै लामो समयदेखि भोग्दै आएको एउटा समस्यालाई पनि उनले हल गरिदिएको घोषणा गरे।

भारतबाट अब आइन्दा पाँच सय र एक हजार नोटका २५ हजार भारतीय रुपैंयाको सीमासम्म ल्याउन पाउने निर्णय दुई देश मिलेर गरेको उनले बताए।

खासगरी नेपाल मार्फत नक्कली भारुको तस्करी भारततर्फ हुने गरेको भन्दै भारत सरकारले ती दरका नोटहरु नेपालमा गैरकानुनी बनाएको थियो।

सम्बोधन लगत्तै उनले टुँडिखेलको सैनिक मञ्चमा गएर नेपाली सेनाका लागि हेलिकप्टर हस्तान्तरण गरे भने त्यसपछि काठमाण्डौं दिल्ली प्रत्यक्ष बस सेवाको उदघाटन गरे।