सरकार तथा राष्ट्र प्रमुखहरु काठमाण्डू ओर्लिदै

  • 25 नोभेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption काठमाण्डूमा सबैभन्दा बढी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी व्यस्त हुने अधिकारीहरुले बताएका छन्

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलनमा भाग लिन सदस्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरु काठमाण्ठू आउने क्रम मंगलबार बिहान सुरु भई सांझ सकिने अधिकारीहरुले बताएका छन्।

सुरुमा श्रीलंकाका राष्ट्रपति महिन्दा राजपक्ष काठमाण्डू ओर्लिने र बंगलादेशकी प्रधानमन्त्री शेख हसिना आईपुगेपछि अतिथिहरु आउने क्रम सकिने जनाईएको छ।

कार्यतालिका हेर्दा नेपाल आए लगत्तै सबैभन्दा बढी व्यस्त भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी हुने देखिएको छ।

मंगलबार बिहान १० बजेअघि नै नेपाल आइपुग्ने श्रीलंकाका राष्ट्रपति महिन्दा राजापाक्ष विमानस्थलबाटै हेलिकप्टरमा लुम्बिनी जाने बताईएको छ।

कार्यतालिका

उनले त्यहाँ मायादेवी मन्दिरमा दर्शन गर्ने र श्रीलंका सरकारले निर्माण गरिदिएको अतिथि गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको अधिकारीहरुले बताएका छन्।

भुटानका प्रधानमन्त्री छिरिङ तोग्वे स्वयम्भु, पशुपतिनाथ, बौद्ध लगायतका राजधानीकै धार्मिक स्थलहरु जाने कार्यक्रम छ।

सबैभन्दा व्यस्त कार्यतालिका मोदीको छ।

काठमाडौं उत्रिए लगत्तै उनले भारतीय सहयोगमा निर्माण गरिएको ट्रमा सेन्टर नेपाल सरकारलाई हस्तान्तरण गर्ने परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाका अधिकारीहरुले बताए।

त्यस बाहेक उनले प्रधानमन्त्री सुशील कोईरालासँग मिलेर काठमाडौ-दिल्ली बस सेवाको प्रारम्भ गर्नेछन्।

सम्झौता

हेलिकप्टर र माटो परीक्षण उपकरण हस्तान्तरणसँगै केही सम्झौतापत्रमा समेत हस्ताक्षर गर्ने कार्यक्रम रहेको बताईएको छ।

पनौतीमा स्थापना गर्ने भनिएको राष्ट्रिय प्रहरी प्रतिष्ठानका लागि भारतले करिब ९ अर्ब रुपैयाँ अनुदान दिने, एकअर्काका पर्यटक बसबाहेक सार्वजनिक र निजी सवारी साधनलाई दुवै देशमा प्रवेश गर्न दिने तथा आयुर्वेदको क्षेत्रमा सहकार्य गर्ने लगायतका सम्झौताहरुमा हस्ताक्षर हुने कानूनमन्त्री नरहरि आचार्यले बताए।

मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यामिन अब्दुल गयुम, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजेद, पाकिस्तानका प्रधानमन्त्री नवाज शरिफ, अफगानिस्तानका राष्ट्रपति असरफ गनी समेत मंगलबारनै नेपाल आउने भएपनि उनीहरुको सोही दिन कुनै कार्यतालिका नरहेको बताईएको छ।