गोरा प्रहरी मुद्दाबाट जोगिए: अमेरिकामा प्रदर्शन

  • 25 नोभेम्बर 2014
तस्वीर कपीराइट Arquivo pessoal
Image caption माइकल ब्राउनलाई १२ वटा गोली लागेको समितिले जनाएको छ

एउटा अमेरिकी समितिले एकजना अश्वेत किशोरको गोली हानी हत्या गर्ने गोरा जातिका प्रहरीमाथि मुद्दा चलाउन नपर्ने निर्णय सुनाएको छ।

उक्त निर्णय लगत्तै प्रहरी र प्रदर्शनकारीहरुबीच झडपहरु शुरु भएका छन्।

कतिपय ठाउँमा गोली चलेका आवाजहरु सुनिएको समाचारहरुमा जनाइएको छ।

समितिको निर्णयपछि संबोधन गर्दै राष्ट्रपति बराक ओबामाले दुःखद घटना भएको बताए।

उनले मिलेर समस्या समाधान गर्ने भन्दै नागरिकहरुका लागि प्रहरीले दैनिक आफ्नो ज्यानको बाजी थाप्ने गरेको बिर्सिन नहुने जनाए।

संकटकाल

बहुप्रतिक्षित निर्णय सुनाउँदै उक्त समितिले मृतक माइकल ब्राउनको शरिरको पछिल्लो भागमा गोली लागेको जनाएको छ।

मिजुरीको फर्गुसनस्थित गत अगस्ट ९ तारिखमा प्रहरी अधिकारी डार्रेन विल्सनको गोली लागी १८ वर्षीय ब्राउनको मृत्यु भएको थियो।

ब्राउनको परिवारका सदस्यले समितिको निर्णयबाट निराश बनेको प्रतिक्रिया दिएका छन्।

ब्राउनको हत्यापछि पनि हिंसात्मक प्रदर्शनहरु भएका थिए।

समितिको निर्णयलाई मध्यनजर गर्दै मिजुरीका गर्भनर जे निक्सनले संकटकाल घोषणा गर्नुका साथै तैनाथीका लागि ४ सय नेशनल गार्डहरु बोलाएका थिए।

जातीय तनाव निम्त्याएको उक्त प्रकरणमा प्रहरीमाथि हत्या मुद्दा चलाउन अफ्रिकी अमेरिकीहरुले माग गरेका छन्।

प्रहरीले गोली चलाउने बेला आत्मसमर्पण गर्नका निम्ति ब्राउनले हात उठाएको प्रत्यक्षदर्शीहरुको भनाई छ।

अवरोध

तस्वीर कपीराइट Reuters
Image caption प्रहरीमाथि मुद्दा चलाउनुपर्ने माग गर्दै प्रदर्शनहरु हुंदै आएका छन्

तर प्रहरी अधिकारीहरुका अनुसार गोली चलाउनुअघि प्रहरी र ती किशोरबीच तनावपूर्ण अवस्था सृजना भएको थियो।

समितिले निर्णय सुनाउनुअघि केही दिनदेखिनै प्रदर्शनहरु हुँदै आएका छन्।

अदालत भवन अगाडि प्रहरीले अवरोधहरु खडा गरेको छ भने ठूला पसल सञ्चालकहरुले पसलका झ्यालहरु थुनेका छन्।

ब्राउनको परिवारले शान्त रहन सबैमा अपील गरेको छ।

सेन्ट लुइसका मेयरका अनुसार, मृतकको परिवारले समितिको निर्णयपछि साढे ४ मिनेट मौन धारण गर्न सोमबार आग्रह गरेको थियो।

१२ सदस्यीय समितिमा ६ जना गोरा जातिका पुरुष र तीन जना महिला तथा १ एकजना अश्वेत पुरुष र दुई जना महिला रहेका छन्।