सार्क शिखर सम्मेलन सुरु

  • 26 नोभेम्बर 2014
Image caption सार्कको शिखर सम्मेलनको उद्घाटन काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा भएको थियो

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क बनाउन प्रमुख भूमिका खेल्नेमध्ये एक भनेर चिनिएको नेपालमा बुधबार यसको अठारौं शिखर सम्मेलन सुरु भएको छ।

आठ सदस्य राष्ट्रका राष्ट्र तथा सरकारप्रमुखहरुको उपस्थितिमा नेपालका प्रधानमन्त्री सुशील कोइरालाले काठमाण्डूस्थित राष्ट्रिय सभागृहमा शिखर सम्मेलन उदघाटन गरेका हुन्।

सम्मेलन बिहीबार काठमाण्डू घोषणापत्र जारी गर्दै समापन हुनेछ।

त्यसअघि मालदिभ्सका राष्ट्रपति अब्दुल्लाह यमिनले सार्कको अध्यक्षता नेपाललाई हस्तान्तरण गरेका थिए।

त्यसपछि प्रधानमन्त्री सुशील कोइरालाले सम्मेलनको अध्यक्षता गरेका थिए।

प्रतिवद्धता

सम्मेलनको पहिलो दिन सम्बोधन गरेका आठै वटा सदस्य राष्ट्रका राष्ट्र तथा सरकारप्रमुखले दक्षिण एसियाली मुलुकहरुबीच विभिन्न क्षेत्रमा एकताका लागि प्रयासहरु तीव्र पार्ने प्रतिवद्धता व्यक्त गरे।

आर्थिक क्षेत्रमा सहकार्य, यातायात सञ्जालको विस्तार ,जलवायु परिवर्तन र आतंकवादसंग जुध्न संयुक्त प्रयास गर्ने जस्ता विषयमा प्राय: सबै नेताहरुले जोड दिएका थिए।

स्थापनाको झण्डै तीन दशक भइसक्दा पनि सार्कले अपेक्षित प्रगति गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ।

विश्व जनसंख्याको एक चौथाइ यो क्षेत्रमा बसोबास गर्छन् तर कुल विश्व व्यापारको ५ प्रतिशतभन्दा कम व्यापार यो क्षेत्रभित्र हुने गरेको तथ्यांक छ।

दुईपक्षीय विषयहरु सार्क सम्मेलनमा उठाउन नपाउने नियम भएपनि खासगरी यो क्षेत्रका दुई ठूला मुलुकहरु भारत र पाकिस्तानबीचको कटुताको मारमा सार्क पर्ने गरेको धेरैको बुझाइ छ।

भारत-पाक सम्बन्ध

टेलिभिजनहरुले सम्मेलनको पहिलो दिनको प्रत्यक्ष प्रसारण गरेका थिए।

तर ती टेलिभिजन दृश्यहरुमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी नवाज सरिफले हात मिलाएको देखिएन।

उनीहरुले अन्य सदस्य मुलुकका सरकार तथा राष्ट्रप्रमुखसंग हात मिलाएको भने देखिन्थ्यो।

मोदीले सम्बोधन गर्दा सरिफले उनीतर्फ हेर्दा पनि हेरेनन्।

त्यसअघि पनि सरिफले सम्बोधन गर्दा मोदीले पनि त्यसै गरेका थिए।

सम्मेलनमा देखिएको यी दृश्यहरुलाई कतिपयले भारत र पाकिस्तानबीच चुलिएको तनावका रुपमा हेरेका छन्।

सरिफ र मोदीबीच सम्मेलनका क्रममा भेटवार्ता हुनेबारे अझै पनि अन्योल छ।

बिहीबार सदस्य मुलुकका सरकार तथा राष्ट्रप्रमुखहरुका लागि अनौपचारिक छलफलका लागि व्यवस्था गरिएको 'रिट्रिट'का क्रममा पनि उनीहरुले भेट्ने,नभेट्ने बताइएको छैन।