सार्कलाई परिणाममुखी बनाउने प्रतिबद्धता

  • 26 नोभेम्बर 2014
Image caption प्रधानमन्त्री सुशील कोइरालाले सार्कले विगतको अनुभवबाट सिकेर अघि बढनुपर्नेमा जोड दिए

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कले जनभावना अनुसार काम गर्न नसकेको स्वीकार्दै सार्क देशका राष्ट्र र सरकार प्रमुखहरुले सृदृढ साझेदारीका लागि प्रयासहरु तीव्र बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

बुधबार काठमाण्डूमा उद्घाटन भएको सार्क सम्मेलनमा उनीहरुले आपसी अविश्वास र आशंका अन्त्य गर्दै सार्कलाई थप परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।

आतंकवादको चुनौतीदेखि हावापानी परिवर्तनको असरसँग जुध्न मिलेर अघि बढ्नुपर्ने आवश्यकता औल्याउँदै सार्कका नेताहरुले ठूला पूर्वाधारको निर्माण र यातायात सञ्जालको विकासमा सहकार्य गरेर अघि बढ्नुपर्ने राय व्यक्त गरे।

सन् १९८७ र २००२ पछि तेश्रो पटक काठमाण्डूमा आयोजित सम्मेलनको उद्घाटन सत्रलाई नेपाल सहित आठै देशका प्रधानमन्त्री र राष्ट्रपतिले सम्बोधन गरेका थिए।

रुपान्तरण

डेढ अर्ब भन्दा बढी मानिसहरुको बसोबास भएपनि दक्षिण एसियामा अझै पनि एक चौथाइ मानिसहरु गरीबीको रेखामुनि रहेको भन्दै शिखर सम्मेलनको उद्घाटन समारोहमा सार्कका नेताहरुले य‌स क्षेत्रमा उपलब्ध जनशक्ति र श्रोत साधनहरुबाट मिलेर फाइदा उठाउनुपर्ने धारणा राखेका थिए।

सार्कले झण्डै ३ दशकको अनुभव हासिल गरिसकेकाले अब आफ्नो गति तीव्र बनाउदै ठूलो आर्थिक र प्राविधिक विकासतर्फ अघि बढ्नुपर्ने प्रधानमन्त्री सुशील कोइरालाले बताए।

उनले भने, “अब भावी पुस्तालाई हामी कस्तो सार्क हस्तान्तरण गर्न चाहन्छौँ भन्ने निर्णय गर्ने समय आइसक्यो। मानिसहरुले धैर्यतापूर्वक धेरै समय कुरेर बिताएका छन्, अब उनीहरुले सुदृढ क्षेत्रीय सहकार्यका कारण विकासबाट हुने फाइदा प्राप्त गर्नैपर्छ।”

सार्क देशहरुले एक आपस विरुद्ध लड्नुको साटो गरीबी विरुद्ध मिलेर लड्नुपर्ने धारणा राखेका पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले दक्षिण एसिया, चीन र मध्य एसियालाई एकीकृत गर्दै अघि बढ्नुपर्ने बताए।

श्रीलंकाली राष्ट्रपतिले बौद्ध पर्यटन मार्गको विकास गर्नुपर्ने धारणा राखे।

खासगरी भुटान र बंगलादेशका प्रधानमन्त्री अनि माल्दिभ्सका राष्ट्रपतिले हावापानी परिवर्तनको असरले साना देशहरुमा लाखौंको संख्यामा मानिसहरु विस्थापन गराउनसक्ने जोखिम रहेको भन्दै त्यसविरुद्ध लड्न योजनाहरु बनाउनुपर्नेमा जोड दिएका थिए।

अफगानी राष्ट्रपति असरफ घानीले राज्यद्वारा प्रायोजित छद्म युद्ध अन्त्य गर्न सवै पक्ष सर्तक हुनुपर्ने बताए।

अविश्वास

आफूलाई क्षेत्रीय र विश्व नेताको रुपमा उभ्याउने प्रयास गरिरहेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सहकार्य र सहयोगका वाचाहरु व्यक्त गरेका थिए।

उनले दक्षिण एसियामा ठूला पूर्वाधारहरुको निर्माण गर्नका लागि भारतमा एउटा संयन्त्र बनाउने, सदस्य राष्ट्रका व्यवसायीहरुका लागि ३ देखी ५ वर्षको भिसा सुविधा सहितको सार्क विजनेस ट्राभलर कार्ड उपलब्ध गराउने र विद्युत व्यापार तथा रेल र यातायात संञ्जालको विस्तारमा जोड दिएका थिए।

सार्क देशहरुको सहकार्यमा जोड दिदैँ उनले भने, “म बेला बेलामा भन्ने गर्छु हामीले एक अर्कालाई एक एक गर्दै जोडेर गयौ भने ८ हुन्छौँ। तर एकसँग अर्को उभियौ भने हामी एक, एक, एक एक गर्दै हाम्रो संख्या अर्बौ, खर्बौमा पुग्छ। नजिकै हुनुभन्दा सँगै हुनुको शक्ति कयौँ गुणा बढी हुन्छ।”

मोदीले सार्कको बारेमा नकारात्मक धारणा र आशंका सधैँ सुनिने गरेको भन्दै त्यसलाई विश्वासमा रुपान्तरण गर्नुपर्ने धारणा राखेका थिए।

तर सम्मेलनको उदघाटनस्थलमा भारत र पाकिस्तानका प्रधानमन्त्रीले हात मिलाउने सम्मको सामान्य शिष्टाचार व्यक्त गरेको नदेखिंदा सार्क अझै पनि यी दुई मुलुकको कटु सम्बन्धको छायाँबाट उम्कन नसकेको धेरैको विश्लेषण छ।