सार्कको १८ औं शिखर सम्मेलन समापन हुँदै

  • 27 नोभेम्बर 2014
Image caption सम्मेलनको उद्घाटनको दिन सदस्य राष्ट्रहरुले साझा मुद्दाहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको १८ औं शिखर सम्मेलन काठमाण्डू घोषणापत्र जारी गर्दै बिहिबार सम्पन्न हुँदैछ।

दुईदिने सम्मेलनका अवसरमा औपचारिक कार्यक्रमहरुमा व्यस्त भएका सदस्य देशका सरकार तथा राष्ट्रप्रमुखहरुले बिहिबार धुलिखेलमा एक अर्कासँग अनौपचारिक भेटघाट र छलफलहरु गर्ने अधिकारीहरुले बताएका छन्।

बुधबारको उदघाट्न सकेर दुईपक्षीय भेटघाटमा व्यस्त भएका सम्मेलनका सहभागी सरकार तथा राष्ट्रप्रमुखहरु बिहिबार बिहान अनौपचारिक छलफलको व्यवस्था गरिएको 'रिट्रिट'मा सहभागी हुन धुलिखेल जानेछन्।

सम्मेलन उदघाट्नको दिन एक अर्काबीच हेराहेर समेत नगरेको भनेर चर्चामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनका पाकिस्तानी समकक्षी नवाज शरिफबीच त्यहाँ अनौपचारिक कुराकानी हुन सक्ने आशा धैरेले गरेका छन्।

छलफल

पाकिस्तान बाहेक अन्य सबै राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग बुधबार छुट्टा-छुट्टै छलफल गरेका मोदीको भेटघाट कार्यतालिकामा शरिफ परेका थिएनन्।

'रिट्रिट' सकेर काठमाण्डू फर्किएपछि सरकार तथा राष्ट्रप्रमुखहरु फेरि सम्मेलनमा सहभागी हुनेछन्।

तस्वीर कपीराइट AP
Image caption रिट्रिटमा भारतीय र पाकिस्तानी प्रधानमन्त्रीहरुबी अनौपचारिक कुराकानी हुन सक्ने अपेक्षा गरिएको छ

लगत्तै काठमान्डू घोषणापत्र जारी गरी सम्मेलनको औपचारिक समापन गरिने अधिकारीहरुले बताएका छन्।

त्यसपछि सम्मेलनका सहभागीहरु राष्ट्रपति रामवरण यादवले आयोजना गरेको रात्रीभोजमा सहभागी हुने कार्यक्रम छ।

सम्झौता

पाहुना राष्ट्रका सरकार तथा राष्ट्रप्रमुखमध्ये केही भने बिहिबार नै फर्किने र केहीले शुक्रबारमात्र काठमाण्डू छाड्ने परराष्ट्र मन्त्रालयको शिष्टाचार महाशाखाले जनाएको छ।

शिखर सम्मेलनकै क्रममा गर्ने भनिएको यातायातसम्बन्धी दुई महत्वपूर्ण सम्झौता नहुने अधिकारीहरुले बताएका छन्।

तर उर्जा क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौताको सम्भावना भने अन्तिम दिन बिहिबारसम्म पनि रहेको उनीहरुले जनाएका छन्।