'गढीमाई मेलामा पशु बलि कम'

  • 28 नोभेम्बर 2014
गढीमाई बलि
Image caption पशुअधिकारकर्मीहरुले गढीमाई मेलामा दिइने बलि रोक्न माग गरिहेका छन्

पशु अधिकारवादीहरुद्वारा चलाइएको बलि प्रथा विरोधी अभियान तथा भारतीय अधिकारीहरुद्वारा नेपालतर्फ पशु पठाउन लगाइएको रोकका कारण यसपटक गढीमाई मेलामा दिइने बलिको संख्यामा उल्लेखनीय कमी आएको मेला आयोजकहरुले बताएका छन्।

शुक्रबार हजारौँको संख्यामा बोकाको बलि दिइएपनि राँगाको संख्यामा निकै कमी आएको बताइन्छ।

तर देश भित्र र बाहिरबाट आउने दर्शनार्थीहरुको घुईंचो भने निकै बढेको आयोजकहरुको भनाइ छ।

एक महिने लामो गढीमाई मेलामा शनिबार पनि बलि दिने कार्यक्रम रहेको छ।

शुरु

गढीमाई मेलामा बलि प्रदानको क्रम आरम्भ हुँदा पहिलो दिन राँगाको बलिमा कमी आएको आयोजकहरुले बताए।

यसपटक पछिल्लो पटक भन्दा कम्तीमा दुई हजार जति राँगा घटेको बताइएको छ।

आयोजकहरुका अनुसार पाँच बर्ष अघिको मेलामा साढे सात हजार राँगा बलि दिइएको थियो।

मेला व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र शाहले भने, “भारतले रोक लगाएको कारण बलिको संख्या केही कम हुन गयो, तर दर्शनार्थीहरुको संख्यामा कुनै कमी आएको छैन।”

बलि प्रदानमा रोक लगाइन सक्ने आशंकाका कारण शनिबार निर्धारण गरिएको बोकाको बली समेत शुक्रबार नै शुरु गरिएको बुझिन्छ।

विरोध

देश विदेशका पशुअधिकारकर्मीहरुले धर्मको नाममा हुने बलि प्रथा अन्त्य हुनुपर्ने भन्दै गढीमाई मेलामा हुने बली रोक्न नेपाल सरकारको ध्यानाकर्षण गराएका थिए।

पशु अधिकारकर्मी प्रमदा शाहले भनिन्, “हामीले गढिमाईमा व्यक्त हुने क्रुरताको विरोध गरेका हौँ, धर्मले पनि पशुपंक्षीको क्रुर हत्या गर्न मिल्छ भनेको छैन।”

बलिका लागि नेपालमा पशु ल्याउन भारतको सर्वोच्च अदालतले बन्देज लगाएपछि यस पटक संख्या घटेको ठानिएको छ।

स्थानीय संचारकर्मी कमलप्रसाद उपाध्यायले भारतीय प्रहरीले झन्डै ३ हजार राँगा र १० हजार बोकालाई नियन्त्रणमा लिएको बताए।

मेला प्रारम्भ भएको १२ औं दिनसम्म झन्डै २० लाख भक्तजनहरुले गढीमाई क्षेत्रको भ्रमण गरिसकेको आयोजकहरुले बताएका छन्।