सहमति खोज्न आन्दोलन नगर्ने मोर्चाको निर्णय

  • 29 नोभेम्बर 2014
Image caption गतिरोध बढ्दै गएका बेला संवाद समितिको बैठक आइतबार बस्ने भएको छ।

सार्क सम्मेलन लगत्तै आन्दोलनमा जाने बताएको एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेका विपक्षी दलहरुको संघीय गणतान्त्रिक मोर्चाले तत्काल आन्दोलन नगर्ने निर्णय गरेको छ।

तराई केन्द्रित दलहरु समेत सात दल रहेको उक्त मोर्चाको शनिबार बसेको बैठकले अझै केही दिन सहमतिका लागि पहल गर्ने निर्णय गरेको बताइएको छ।

उक्त बैठकले सतारुढ दलहरुले सम्वाद समितिमा पठाएको प्रस्तावलाई अनुसूचीमै राखेर जानु पर्ने अडानसमेत दोहोराएको थियो।

सत्तारुढ दलहरुले पहिचान सहितको संघीयतामा जान नचाहेको भन्दै देशव्यापी विरोध सभाहरु गरेको उक्त मोर्चामा रहेका दलहरु कांग्रेस र एमालेले संवाद समितिमा प्रस्ताव ल्याएपछि थप क्रुद्ध बनेका थिए।

विवाद

सार्क सम्मेलन पछि देशव्यापी आन्दोलनको कार्यक्रम गर्ने बताउँदै आएका उनीहरुको शनिबारको बैठकले तत्कालका लागि आन्दोलनको साटो सहमति निर्माणमै जोड दिने बताएका छन्।

एकीकृत माओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले भने, "सहमतिका लागि अहिले पहल गरौं, त्यसो गर्दा अहिले आन्दोलनका कार्यक्रमहरु घोषणा नगरौं भन्ने भयो।"

सत्तारुढ कांग्रेस, एमाले सहितका दलले आफूहरुले संवाद समितिमा पेश गरेको साझा प्रस्तावलाई विषयवस्तुकै रुपमा संविधानसभामा पठाउनु पर्ने माग गर्दै आएको बेला मोर्चाको शनिबारको बैठकले त्यसो गर्न नमिल्ने भन्दै अनुसूचीमै राखेर पठाउनु पर्ने बताए।

उनले भने, "२० दलको पछिल्लो जुन बैठक भएको थियो त्यसले गरेकै जस्तै उनीहरुको प्रस्तावलाई अनुसूची बाहेक अन्यत्र राख्न सकिदैन भन्ने नै भयो।"

मोर्चाले भने जस्तै सहमतिकै प्रयासहरुलाई निरन्तरता दिने भन्दै शनिबार बसेको कांग्रेस, एमाले र एकीकृत माओवादीको बैठक भने विगतका बैठकहरु जस्तै सहमति जुटाउन नसकी सकिएको छ।