लामो समयपछि संवाद समितिको बैठक बस्दै

  • 30 नोभेम्बर 2014
Image caption राजनीतिक संवाद समितिको बैठक निर्णायक हुनेमा शंका व्यक्त गरिएको छ

झण्डै एक महिनादेखि अड्किएको संवैधानिक तथा राजनीतिक संवाद समितिको बैठक आइतबार बस्दैछ।

मुख्य सत्ताधारी दलहरुले संविधानका अन्तर्वस्तुबारे संयुक्त प्रस्ताव पेश गरेपछि समितिको बैठक अन्योलपूर्ण हुनुका साथै संविधान निर्माणको प्रक्रिया ठप्प भएको थियो।

यस्तो अवस्थामा आइतबार बस्ने भनिएको बैठकले राजनीतिक गतिरोधको निकास खोज्ने बताइए पनि त्यसको सम्भावना कम देखिएको नेताहरु बताएका छन्।

संविधानसभाले अन्तिमपटक भन्दै संवाद समितिलाई दिएको म्याद गत कात्तिक १६ गते गुज्रिएपछि संवाद समितिले सहमति र विमतिका विषयलाई संविधानसभामा कसरी पेश गराउने भन्ने विषयमा दलहरु अन्यौलमा देखिँदै आएका छन्।

अन्यौल

शनिबार साँझ बसेको तीन दलको बैठक बिना निष्कर्ष टुंगिएको थियो।

आइतबार दिउँसो बस्ने भनिएको समितिको बैठकले निकास दिने सम्भावना भने कम रहेको नेताहरु स्वयं बताउँछन्।

एकिकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने, "अहिलेसम्मको दलहरुबीच भएका बैठकहरुबाट आशावादी हुन सकिए पनि संवाद समितिको आजको बैठकले निकास खोज्नेमा सम्भावना कमै देखिन्छ।" सत्ताधारी दुइ दल नेपाली कांग्रेस र नेकपा एमाले आफ्ना धारणालाई संवाद समितिले प्रतिवेदनमा उल्लेख गरेर संविधानसभामा पेश गर्नुपर्ने अडानमा छन् भने प्रतिपक्षी एकिकृत नेकपा माओवादी र तराइ केन्द्रित दलहरु, दलहरुको धारणालाई केवल अनुसूचीमा राखिनुपर्ने बताउँदै आएका छन्।

विवाद कायमै रहँदा संवाद समिति बैठक अघि राजनीतिक गतिरोध हटाउन निकासको खोजी गरिने कांग्रेस सह महामन्त्री पूर्णबहादुर खड्काले बताए।

उनले भने, "दुइ पक्षीय र बहुदलीय बैठकहरु गरेर सहमति खोज्ने प्रयास गरिनेछ तर आशावादी हुने ठाउँ भए पनि सहमति हुन सक्ला भन्नेमा ढुक्क हुने स्थिति छैन।"

संवाद समितिको बैठक अघि आइतबार एमाओवादी अध्यक्ष प्रचण्ड संयोजक रहेको राजनीतिक समिति र विपक्षी २० दलीय मोर्चाको पनि बैठक बस्ने बताइएको छ।