अदालतको निर्णय विरुद्ध प्रदर्शन

  • 30 नोभेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption अरब विद्रोहमा ज्यान गुमाएकाहरुका आफन्तहरुले मुबारकलाई फाँसीको सजाय हुनु पर्ने माग गरेका छन्

इजिप्टको प्रहरीले राजधानी कायरोको केन्द्रमा रहेको तहरीर चौकमा भेला भएका प्रदर्शनकारीहरुको बढ्दो भिडमाथि आश्रुँग्यास प्रहार गरेको छ।

पूर्वराष्ट्रपति होस्नी मुबारकलाई उनी विरुद्धका सबै अभियोगबाट मुक्त गर्ने अदालतको निर्णयबाट आक्रोशितहरु प्रदर्शनमा उत्रिएका थिए।

झड्पमा कम्तिमा एकजना मारिएको बताइएको छ।

सन् २०११ मा भएको अरब विद्रोहका क्रममा सयौं मानिसहरु मारिएको घट्नामा मुबारकको संलग्नता रहेको भन्दै उनी विरुद्ध अभियोगहरु लगाइएका थिए।

खारेज

उनलाई शुरुमा आजीवन कारवासको सजाए दिइएको थियो।

पुन: गरिएको सुनुवाईपछि एकजना न्यायाधीशले मुद्दा नै खारेज गरिदिएका हुन्।

उक्त निर्णयपछि मुबारकका समर्थकहरु खुशीले अदालत बाहिर नाचेका थिए।

उनीहरुले मुबारकलाई एकजना राष्ट्रिय नायक भन्दै उनी विरुद्धका मुद्दा आधारहीन भएको बताउँदै आएका थिए।

मुबारक विरुद्ध झण्डै चार बर्ष अघिको अरब ब्रिदोहका क्रममा २३९ जना प्रदर्शनकारीहरु मारिएको घटनालाई लिएर अभियोगहरु लगाइएको थियो।

तस्वीर कपीराइट EPA
Image caption अदालतको निर्णयपछि मुबारकका समर्थकहरुले खुशी मनाएका थिए

सन् २०११ को उक्त आन्दोलनपछि उनले सत्ता गुमाउनु परेको थियो।

सानो-सांकेतिक

तर सन् २०११ मा मारिएकाहरुका आफन्तहरु निर्णयबाट क्रुद्ध बने। र, अरब विद्रोहबाट ठूलो आशा गरेका कयौं मानिसहरु मुबारक विरुद्धका अभियोग खारेज गर्ने निर्णय स्वीकार साह्रै गाह्रो हुने भन्दै निकै दुखी हुन पुगे।

अदालतको निर्णयले केही घण्टाभित्रै सडकमा त्यसविरुद्ध प्रतिकृया उत्पन्न गराइ दियो।

केही मानिसहरु विरोध जनाउन अरव आन्दोलनको शुरुवात भएको तहरीर चौक नजिक फेरी भेला भए।

भीड बढेपछि अश्रुँग्यास प्रहार गरियो।

बीबीसीकी एकजना सम्वाददाता भन्छिन, “प्रदर्शन तुलनात्मक रुपमा सानो थियो तर सांकेतिक रुपमा निकै ठूलो।”