'तामाकोशी-तेस्रो, माथिल्लो मर्स्याङ्दी अघि बढ्दै'

  • 3 डिसेम्बर 2014
Image caption यसअघि अरुण तेस्रो र माथिल्लो कर्णालीको पीडीए भारतीय कम्पनीसँग भईसकेको छ

ठूला पुर्वाधार निर्माणका लागि गठित लगानी बोर्डले एकपछि अर्को महत्वपूर्ण जलविद्युत आयोजनाहरुको विकास सम्झौता (पीडीए) गरीिरहेका बेला तामाकोशी तेस्रो र माथिल्लो मर्स्याङ्दीको पनि पीडीएको मस्यौदामा गृहकार्य भईरहेको जनाएको छ।

दुवै आयोजनाको काम सँगसँगै अगाडि बढिरहेको र अबको दुई सातापछि सम्बन्धित कम्पनीहरुसँग शर्तहरुबारे वार्ता सुरु गरिने बोर्डले जनाएको छ।

यसअघि अरुण तेस्रो र माथिल्लो कर्णालीको पीडीए भारतीय कम्पनीहरुसँग भईसकेको छ।

तयारी

६५० मेगावाटको तामाकोशी तेस्रो र ६०० मेगावाटको माथिल्लो मर्स्याङ्दीको आयोजना विकास सम्झौता पीडीए आगामी पाँच महिनाभित्र सँगसँगै सम्पन्न गर्ने गरी गृहकार्य भईरहेको लगानी बोर्डले जनाएको छ।

यसको लागि मस्यौदा तयारीको कामलाई तीव्रता दिएको बोर्डको भनाई छ।

उक्त आयोजनाहरुमा लागू हुने शर्त र नेपालले पाउने लाभबारे आन्तरिक छलफल भईरहेको बोर्डका बाह्य मामिला प्रमुख घनश्याम ओझाले बताए।

उनले भने, “सर्तहरु कस्ता हुने, नेपालले कति प्रतिशतसम्म निःशुल्क उर्जा माग गर्ने, अन्य लाभहरु के के लिने भन्ने विषयमा पीडीएमा हाम्रो आन्तरिक तयारी भईरहेको छ।”

१११ अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरिएको तामाकोशी तेस्रोको सात वर्षअघि एउटा नर्वेली कम्पनीलाई विद्युत उत्पादन सर्वेक्षण अनुमतिपत्र दिईएको थियो।

वार्ता

त्यस्तै एक सय अर्ब रुपैयाँ लागत पर्ने अनुमान गरीएको माथिल्लो मर्स्याङ्दीको ६ वर्षअघि भारतीय कम्पनी जिएमआरलाई सर्वेक्षण अनुमतिपत्र दिइएको थियो।

पछि आएर विश्व बैंक सम्बद्ध इटरनेशनल फाइनान्स कर्पोरेसनले पनि माथिल्लो मर्स्याङ्दीमा लगानीकर्ताको रुपमा हिस्सा लिएको छ।

यी दुवै जलविद्युत आयोजनाका लागि सम्बन्धित लगानीकर्ताहरुसँग अबको दुई सातापछि वार्ता सुरु गरिने ओझाले बताए।

“आयोजना विकासकर्ताहरुसँग पौष पहिलो हप्ताबाट वार्ता सुरु गर्ने योजना छ” ओझाले भने।

यसअघि बोर्डले बहुचर्चित आयोजनाहरु ९ सय मेगावाटको अरुण तेस्रो र ९ सय मेगावाटकै माथिल्लो कर्णालीको पीडीए भारतीय कम्पनीहरुसँग गरिसकेको छ।

सबैजसो आयोजनाहरु अबको सात वर्षमा सम्पन्न हुने बताईएको छ।