‘तरकारीमा विषादीको मात्रा घट्दै’

  • 2 डिसेम्बर 2014
Image caption विषादी छर्दा स्वास्थ्यमा असर पर्ने कुरा किसानलेपनि बुझ्न थालेको बताईन्छ

बजारमा आउने तरकारीमा विषादी जाँचमा गरिएको कडाईका कारण पछिल्ला केही महिनामा सकारात्मक परिणाम देखिन थालेको अधिकारीहरुले बताएका छन्।

राजधानी काठमाण्डूमा दैनिक एक दर्जनभन्दा बढी तरकारीहरुको नमूनामा विषादी परीक्षण गर्दा पूर्णरुपमा खानयोग्य देखिएको निर्देशनालयको भनाई छ।

यसै आर्थिक वर्षभित्र देशका प्रमुख ६ वटा सहरहरुमा पनि प्रयोगशाला स्थापना गरी विषादी परीक्षण सुरु गर्ने तयारी थालिएको अधिकारीहरुले बताएका छन्।

झण्डै ६ महिनाअघिदेखि काठमाण्डूको कालिमाटीस्थित तरकारी तथा फलफूल बजारमा आउने तरकारीहरुमा विषादीको मात्रा जाँच्न सुरु गरिएको थियो।

खानयोग्य

जाँचपश्चात हालसम्म तीन पटक तरकारीहरु नष्ट गरिएको र नौ पटक क्वारेन्टाइन अर्थात जाँचमा राखी केही समयपश्चात मात्रै बजारमा विक्रीका लागि अनुमति दिईएको बाली संरक्षण निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले बताए।

विषादी हालेपछि केही दिन वा हप्तापछि मात्रै तरकारी खानयोग्य हुने भएपनि किसानहरुले चाँडै बजारमा ल्याइदिंदा क्वारेन्टाइनमा राख्नुपरेको उनको भनाई छ।

तर केही महिनायता बजारमा आउने तरकारीहरु पूर्णरुपमा खानयोग्य भेटिएको शर्माले बताए।

उनले भने, “प्रत्येक दिन विहान १२ देखि १५ वटा नमुना परीक्षण गर्छौं। विगत चार महिनादेखि विषादीको मात्रा न्यून छ, जुन खान लायक छ। अलि सचेत हुनुभएको छ कृषकहरु। विषादी छर्नासाथ बाजारमा ल्याउनुहुन्न रहेछ। छरे पछि जति दिनसम्म पर्खिनुपर्ने हो, त्यति दिनसम्म पर्खेर बजारमा ल्याउँदा त्यसले असर पार्दैन भन्ने ज्ञान बढ्दै गएको छ।”

परीक्षण

ठूलै प्रचारप्रसारका साथ सुरु गरिएको यस्तो परीक्षण हालसम्म काठमाण्डूको कालिमाटीमा मात्रै सीमित रहेको छ।

अन्य ठाउँका उपभोक्ताहरुले भने परीक्षणको अभावमा आफूहरुको क्षेत्रमा विषादीयुक्त तरकारीमा कमी नआएको भन्दै गुनासो गर्दै आएको बताईन्छ।

यस्तो गुनासोका माझ निर्देशनालयले यसै आर्थिक वर्षभित्र देशका विभिन्न ६ ठाउँमा प्रयोगशाला स्थापना गर्ने जनाएको छ।

उनले थपे, “प्रयोगशाला खोलेदेखि विषादी न्यूनिकरण असाध्यै भएको छ। त्यसैले बुटवल, पोखरा, नेपालगञ्ज, नारायणघाट, विराटनगर र काठमाण्डूमा कालीमाटी बाहेक अर्को छ ठाउँमा यसै वर्ष हामी थप प्रयोगशाला खोल्दैछौं।”

तर खासै ठूलो रकम नलाग्ने भनिएको विषादी परीक्षण प्रविधि काठमाण्डूसंगै देशका अन्य प्रमुख भागमा पुर्याउन ढिलाई गरेको भन्दै कतिपयले सरकारी निकायहरुको आलोचना गरेका छन्।