समस्या एक ठाउँबाट अर्कोमा : नेम्वाङ

  • 5 डिसेम्बर 2014
Image caption नेम्वाङले प्रतिवेदन प्राप्त भएपछ छलफल अघि बढाउने बताएका छन्

प्रमुख दलहरुले विवादित विषयहरुलाई संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिबाट संविधानसभामा लैजाने सहमति गरेर विद्यमान समस्यालाई एक ठाउँबाट अर्को ठाउँमा सार्ने काम मात्रै गर्न लागेको संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताएका छन्।

संवाद समितिमा पेश भएका दलगत धारणाहरुलाई संविधानसभामा लैजाने तरिका निधो गर्ने जिम्मा समितिका सभापति बाबुराम भट्टराईलाई दिनुलाई दलहरुले गाँठो फुकेको रुपमा अर्थ्याएको बेला उनको यस्तो प्रतिक्रिया आएको हो।

खासगरी सत्ताधारी दलहरुले विवादित विषयमा लिखित धारणा पेश गरेपछि संवाद समितिभित्र एक महिनायता देखिएको गतिरोध हटाउन भन्दै प्रमुख दलहरुले भट्टराईलाई स्वविवेक प्रयोग गरेर प्रतिवेदन बुझाउन अधिकार दिएको बताएका थिए।

तर त्यसरी संविधानसभामा प्रतिवेदन लैजाँदैमा समस्याको गाँठो फुकेको मान्न नसकिने संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले बताए।

समस्या

उनले भने, “उहाँहरुले संवाद समितिको समस्यालाई संविधानसभामा पुर्याउनु मात्रै भएको हो। संविधानसभामा त्यसलाई पुर्याउदा नयाँ ढंगले छलफल गर्न दलहरुले वातावरण प्राप्त गर्छन् भन्ने सम्मको हकको लागि मात्रै यो सकारात्मक हो। खासमा समस्या जहाँको त्यहीं नै छ।”

राज्य पुनर्संरचना, शासकीय स्वरुप, निर्वाचन प्रणाली जस्ता विषयमा विभाजित रहँदै आएका प्रमुख दलहरु आ-आफ्नो अडानबाट टसको मस नभएपछि पूर्व निर्धारित माघ ८ गतेको मितिमा संविधान जारी हुनेमा आशंकाहरु व्यक्त भइरहेका छन्।

यद्यपि प्रतिवेदन पठाउने निर्णयले संविधानसभामा सहमति जुटाउने ढोका खुलेको नेम्वाङले बताए।

प्रतिवेदन

उनले सभापति भट्टराईले शुक्रबार प्रतिवेदन आफूलाई हस्तान्तरण गर्ने सम्भावना रहेको बताए।

नेम्वाङले भने, “प्रतिवेदन प्राप्त हुन पनि सक्छ। उहाँले दिनुभयो भने २१ गते संविधानसभाको बैठक राख्न सकिन्छ। त्यो बैठकमा अहिलेको विषयलाई कसरी राख्ने भन्ने सम्बन्धी छलफल गरेर हामी अगाडीि बढ्छौं।”

कार्यतालिका अनुसार संविधान जारी गर्न अब करिब डेढ महिना मात्रै बाँकी छ।