'केन्याटा विरुद्धका अभियोगहरु फिर्ता'

  • 5 डिसेम्बर 2014
केन्याटा
Image caption केन्याटाले आफु विरुद्ध लगाइएका आरोपहरु अस्वीकार गर्दै आएका थिए

अन्तर्राष्ट्रिय फौज्दारी अदालतका अभियोक्ताहरुले केन्याका राष्ट्रपति उहुरु केन्याटा विरुद्ध लगाइएका अभियोगहरु फिर्ता लिएका छन्।

उनी विरुद्ध सन् २००८ मा आम चुनाव पछि भएको हिंसा भडकाएर मानवता विरुद्ध अपराध गरेको अभियोग लगाइएको थियो।

अन्तर्राष्ट्रिय फौज्दारी अदालत (आइसिसि) का अभियोक्ताहरुले केन्यामा ६ वर्ष अघि भएको आमचुनाव लगत्तै भएका हिंसाकालागि केन्याटा दोषी रहेको देखाउने पर्याप्त प्रमाण आफुहरुसंग नरहेको बताए।

घोषणा

अदालतले राष्ट्रपति केन्याटा विरुद्ध अभियोगपत्र तयार गर्न थप समय दिन अस्वीकार गरेपछि अभियोक्ताहरुले केन्याटा विरुद्ध लगाइएका अभियोगहरु फिर्ता लिने घोषणा गरेका हुन्।

ती ह‌िंसामा एक हजार जना भन्दा बढीको ज्यान गएको थियो भने ६ लाख भन्दा बढी मानिसहरु विस्थापित भएका थिए।

आइसिसिले केन्याटाको प्रतिबन्धित मिलिसिया समूह मुङ्गिकीसंग संबन्ध रहेको आरोप लगाएको थियो।

तर केन्याटाले आफु विरुद्ध लगाइएका आरोपहरु अस्वीकार गर्दै आएका छन्।

सन् २०१२ मा आफु विरुद्ध अभियोग लगाइए पछि अन्तर्राष्ट्रिय फौज्दारी अदालत समक्ष उपस्थित हुने उनी पहिलो बहालवाला राष्ट्राध्यक्ष बनेका थिए।

उहुरु केन्याटा केन्याका संस्थापक नेता जोमो केन्याटाका छोरा हुन्।

धनी

फोर्ब्स पत्रिकाले उनी अफ्रिकाको २३ औं सबैभन्दा धनी व्यक्ति भएको जनाएको थियो।

सन् २००८ मा बीबीसीको हार्डटक कार्यक्रममा सोधिएको एक प्रश्नमा उनले आफ्नो परिवारसंग कति जग्गा जमीन छ भन्ने बताएनन्।

उनले त्यस्तो प्रश्नको जवाफ दिन आवश्यक नरहेको बताएका थिए।

त्रिपन्न वर्षीय केन्याटा, उपराष्ट्रपति रुटो तथा दुईजना अन्य केन्यालीहरु विरुद्ध अन्तर्राष्ट्रिय फौज्दारी अदालतले मानवता विरुद्धको अपराधमा संलग्न भएको भन्ने अभियोग लगाएको थियो।

आफु विरुद्धको अभियोग फिर्ता लिने आइसिसिको निर्णयबाट राष्ट्रपति केन्याटालाई ठूले राजनीतिक लाभ पुग्ने अनुमान गरिएको छ।