सुन तस्करीबारे सुरक्षा निकायसंग सोधपूछ

  • 7 डिसेम्बर 2014
Image caption पछिल्लो समय विदेशबाट पैसाको साटो सुननै पठाउने प्रवृत्ति बढेको केन्द्रिय बैंकका अधिकारीको भनाई छ

सुन तस्करी नियन्त्रण गर्ने निकायविरुद्ध नै तस्करीमा सघाउने किसिमको भूमिका खेलेको भन्ने उजुरी संसदको सार्वजनिक लेखा समितिमा परेको बीबीसीलाई जानकारी प्राप्त भएको छ।

उजुरी गम्भीर प्रकृतिको भन्दै समितिले आइतबारबाट प्रहरी अधिकारीहरुसंग सोधपूछ थालेको छ।

“अहिले देशको स्थिति हेर्दा सुन तस्करी व्यापक मात्रामा भइराखेको खबरहरु आएका छन्। यसमा सबै जिम्मेवार हुनुपर्दछ। तर सम्बन्धीत निकाय विरुद्धै आरोपहरु लागेपछि हामी गम्भीर भएका छौं ” समितिका सभापति जनार्दन शर्माले बीबीसीलाई बताए।

त्यस्ता उजुरी प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो विरुद्ध पनि परेको र छानबिन पश्चात मात्रै सत्य तथ्य थाहा लाग्ने उनले बताए।

“सुराकीसंग पैसाको लेनदेनको विषयलाई लिएर त्यस्तो उजुरी परेको छ,” शर्माले भने।

तर आइतबारको सोधपूछका बेला प्रहरी अधिकारीहरुले सम्बन्धीत निकाय विरुद्धका आरोपहरु आधारहीन भएको प्रतिक्रिया दिएको उनले बताए।

सुन थन्कियो

सुनको तस्करी बढेको भन्ने खबरका माझ अचेल बैंकहरुमा चार सय किलो सुन विक्री नभएर थन्किएको राष्ट्र बैंकका अधिकारीहरुले बताएका छन्।

सुनको बढ्दो तस्करीलाई अधिकारीहरुले केही महिना यता विदेशमा काम गर्ने नेपालीहरुले पठाउने विप्रेषण वा रेमिटेन्स रकमको वृद्धि दर खस्किएको संग जोडेर हेरेका छन्।

उनीहरुका अनुसार पछिल्ला महिनाहरुमा नेपाली कामदारहरुले पैसाको साटो सुन पठाउने क्रम बढेको छ।