हागुपीट सामुद्रिक आंधी पूर्वी फिलिपिन्समा

  • 7 डिसेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption अांधीबाट जोगिन मानिसहरु अग्लो स्थानतर्फ गएको अधिकारीहरुले बताएका छन्

हागुपीट नामक सामुद्रिक आंधी पूर्वी फिलिपिन्सको डोलोरेस सहर पुगेको त्यहाँको मौसम सम्बन्धी निकायले जनाएको छ।

शक्तिशाली आंधीका कारण बिजुली काटिएको छ भने रुखहरु ढलेका छन्।

अधिकारीहरुका अनुसार, मानवीय क्षति भएको विवरण प्राप्त भएको छैन्।

आंधी पुग्नुअघिनै पाँच लाखभन्दा बढी मानिसहरु केही दिन पहिल्यै तटीय क्षेत्रका गाउँहरु छाडेर अन्यत्र गईसकेका छन्।

कमजोर

उक्त आंधी अहिले टाक्लोबानतर्फ बढिरहेको अधिकारीहरुले बताएका छन्।

एक वर्षअघि हायान नामक आंधीका कारण उक्त क्षेत्रमा हजारौं मानिसहरुको ज्यान गएको थियो।

केही कमजोर देखिएपनि प्रतिघण्टा १ सय ९५ किलोमिटरको वेगमा आंधी रहेको छ।

फिलिपिन्स एयरलाइन्स र सेबू प्यासिफिकले शुक्रबार र शनिबार मध्य र उत्तरी फिलिपिन्सका लागि १ सय ५० भन्दा बढी उडानहरु रद्द गर्दा हजारौं मानिसहरु फसेका छन्।

सामुद्रिक यातायात सेवा पनि रोकिएको छ।

Image caption मानिसहरुले पहिलेदेखि सामान किनमेल गर्न थालेका थिए

अधिकारीहरुका अनुसार आंधीका कारण डोलेरेस सहरमा क्षति भएको छ।

अंध्यारो

डोलोरेसबाट प्रहरी प्रवक्ता एलेक्स रोबिनले समाचार संस्था एपीलाई भने, “धेरै रुखहरु ढलेका छन्। त्यसमध्ये कतिपय सडकमा छन्। हामी पुरै अंध्यारोमा छौं। टर्चहरुबाट मात्र उज्यालो पाएका छौं।”

बीबीसीका जोनाथन हेडका अनुसार मानिसहरुलाई उच्च स्थान र चर्च, विद्यालय तथा रंगशालाहरुमा सार्न लागिएको छ।

यद्यपि हाम्रा संवाददाता भन्छन्, आंधीले दिशा परिवर्तन गर्न सक्ने भएकोले सबैभन्दा बढी प्रभावित कुन क्षेत्र हुने भन्नेमा कोही पनि ढुक्क छैनन्।

शुक्रबार दैवी प्रकोप निकायका प्रमुखलाई भेटेका राष्ट्रपति बेनिग्नो अकिनोले प्रभावित क्षेत्रमा राहत सामाग्री पठाउन अधिकारीहरुलाई आदेश दिएका छन्।

आंधी सकिएपछि हुन सक्ने लुटपाटका घटना रोक्न सेना र प्रहरी परिचालन गर्न समेत उनले आदेश दिएका छन्।