सुर्खेत बस दुर्घटनामा १८ जनाको मृत्यु

  • 8 डिसेम्बर 2014
दुर्घटना भएको बस
Image caption बस सडकबाट करिब २०० मिटर तल खसेको प्रहरीको भनाई छ

कालिकोटबाट टिकापुरतर्फ आइरहेको बस सुर्खेतदेखि करिब ५० किलोमिटर उत्तर-पश्चिमतिर कर्णाली राजमार्गको कालीखोला भन्ने स्थानमा सडकबाट करिब ३०० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीको भनाई छ।

घाइतेहरुको उपचार मध्य-पश्चिम क्षेत्रका विभिन्न अस्पतालहरुमा भइरहेको बताईएको छ।

उद्धार कार्यमा खटिएर सुर्खेत फर्किएका प्रहरी नायब उपरिक्षक (डीएसपी) राजीव बस्नेतको भनाईमा तीब्र गतिका कारण यात्रुले खचाखच बस दुर्घटना भएको हुनसक्छ।

उनका अनुसार बस सडकबाट करिब २०० मिटर तल खसेको थियो।

'लापरवाही'

बस्नेतले बीबीसीलाई भने, “बाटो पनि केही चिप्लो थियो, क्षमताभन्दा बढी यात्रु बोकेको बस र तीब्र गतिमा आइरहेको जस्तो देखिन्छ, चालकको लापरवाही देखिन्छ।"

नराम्ररी क्षति पुगेको बसमा अड्किएका घाइते र मृत यात्रुलाई निकाल्न प्रहरी टोलीलाई निकै कठिन भएको उनले बताए।

घटनास्थलबाट प्रहरीले १४ यात्रुको शव निकालेको थियो।

अन्यको अस्पताल लैजाने क्रममा वा उपचारको क्रममा ज्यान गएको थियो।

दुई साताअघि जाजरकोटमा भएको बस दुर्घटनामा ५० जनाभन्दा बढी मानिसको ज्यान गएको थियो।

खराब सडक, सवारी साधनको दूरावस्था र चालकको लापरवाही जस्ता कारणले नेपालमा सडक दुर्घटना हुने गरेको बताइन्छ।

गत वर्ष सडक दुर्घटनाहरुमा १७ सयभन्दा बढी व्यक्तिको ज्यान गएको थियो।