‘हागुपीट समुद्री आँधी कमजोर हुँदै’

  • 8 डिसेम्बर 2014
Image caption आँधीले अधिकांश घरका छानाहरु उडाएको अधिकारीहरुले बताएका छन्

हागुपीट नामक समुद्री आँधी कमजोर हुँदै गएको र बिहिबार विहानसम्म अन्त्य हुने फिलिपिन्सका अधिकारीहरुले बताएका छन्।

यद्यपि देशभर फैलिंदा उक्त आँधीले केही क्षति पुर्याएको उनीहरुको भनाई छ।

शनिबार आँधी पुगेयता कम्तीमा ३ जनाको ज्यान गएको छ।

मानिसहरुमा त्रास फैलिएजस्तो उक्त आँधी शक्तिशाली छैन्।

विनाशकारी

आँधीका कारण करिब १० लाख मानिसहरु घर छाडेर अन्यत्र गएका छन्।

संवाददाताहरु भन्छन्, यो आँधी गत वर्ष आएको हायान जति विनाशकारी छैन्।

उक्त आँधीका कारण हजारौं मानिसहरुको ज्यान गएको थियो।

हायानबाट गत वर्ष नराम्ररी प्रभावित टाक्लोबान सहरमा हागुपीटले घरका छानाहरु उडाएको छ भने सडकहरुमा बाढी निम्त्याएको छ।

फिलिपिन्सको मौसम पूर्वानुमान निकायका अनुसार आईतबार सांझ पाँच बजे हागुपीटले प्रतिघण्टा १ सय ७० किलोमिटरको वेगमा हावाहुरी ल्याएको थियो।

बीबीसीका जोनाथन हेड भन्छन्, हागुपीट शक्तिशाली देखिन्छ, तर हायानको जस्तो खतरानाक कतै पनि देखिंदैन।

तस्वीर कपीराइट AFP
Image caption गत वर्ष आएको हायान आँधी जस्तो हागुपीट विनाशकारी नभएको बताईएको छ

अधिकारीहरुले सन् २०१३ को तुलनामा आफूहरुको पूर्वतयारी राम्रो भएको बताएका छन्।

अनुमान

उनीहरुका अनुसार मुलुकमा अहिलेसम्मकै सबैभन्दा बढी मानिसहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ।

शनिबार आँधी पुगेको डोलोरेस सहरका मेयरले ८० प्रतिशत घरहरु ध्वस्त भएको बताएका छन्।

रुखले च्यापिएर एकजना स्थानीयवासीको ज्यान गएको छ।

ईलो ईलो प्रान्तमा अन्य दुईजनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन्।

मौसम पूर्वानुमान निकायका अधिकारीहरुका अनुसार हागुपीट बिहिबार विहान फिलिपिन्सबाट हटने अनुमान गरिएको छ।

तटीय क्षेत्रका गाउँका करिब १९ हजार मानिसहरुलाई २६ वटा उद्धार केन्द्रहरुमा राखिएको अधिकारीहरुलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ।