‘मलेरियाबाट मृत्यु हुनेको संख्यामा आधाले कमी’

  • 9 डिसेम्बर 2014
तस्वीर कपीराइट
Image caption लामखुट्टेबाट जोगिने झुलमा धेरै मानिसहरुको पहुँच हुन थालेको विश्व स्वास्थ्य संगठनले जनाएको छ

विश्यव्यापी चालिएको कदमहरुका कारण मलेरियाबाट मृत्यु हुने मानिसहरुको संख्यामा आधाले कमी आउनु उल्लेख्य प्रगति भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संगठनका अनुसार, सन् २००१ र सन् २०१३ को बीचमा ४३ लाख मानिसहरु मलेरियाका कारण मृत्यु हुनबाट जोगिएका छन्।

सन् २००१ र सन् २०१३ को बीचमा मलेरियाका कारण मृत्यु हुनबाट जोगिने ४३ लाख मानिसहरुमध्ये ३९ लाख सब-सहारा अफ्रिका क्षेत्रका पाँच वर्षमुनिका बालबालिका रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

प्रत्येक वर्ष धेरै मानिसहरु मलेरियाबाट जोगाउने पहलबाट लाभान्वित हुन लागेको संगठनको निष्कर्ष छ।

जोखिम

सन् २००४ मा मलेरियाको जोखिममा रहेका ३ प्रतिशत मानिसहरुले लामखुट्टेको टोकाईबाट बच्न झुल पाएकोमा अहिले ५० प्रतिशतले झुल पाएको उसले जनाएको छ।

संगठनका अनुसार लामखुट्टेको टोकाईपछि गरिने जाँचमा वृद्धि भएको छ र धेरै मानिसहरुले उपचारमा पहुँच पाएका छन्।

मलेरिया उन्मुलन गर्ने मुलुकहरुको संख्या बढ्दै गएको उसको भनाई छ।

सन् २०१३ मा अजरबैजान र श्रीलंकामा पहिलो पटक मलेरियाको नयाँ बिरामी देखिएका छैनन्।

तस्वीर कपीराइट AFP
Image caption मलेरियाबाट सबैभन्दा बढी अफ्रिकी मुलुकका मानिसहरुको मृत्यु हुने गरेको छ

अन्य ११ मुलुकहरु अर्जेन्टिना, अर्मेनिया, इजिप्ट, जर्जिया, इराक, किर्गिस्तान, मोरक्को, ओमान, पाराग्वे, तुर्कमिनिस्तान र उज्वेकिस्तानमा पनि मलेरियाका नयाँ बिरामी नदेखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ।

संक्रमित

अफ्रिकामा मलेरियाका कारण हुने मृत्युमा उल्लेख्य कमी आएको छ।

मलेरियाका कारण हुने मृत्युमध्ये ९० प्रतिशत अफ्रिकामा हुने गरेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार मलेरियाबाट संक्रमित हुनेहरुको संख्यामा एक चौथाईले कमी आएको छ।

सन् २००० मा १७ करोड ३० लाख मानिसहरु संक्रमित भएकोमा सन् २०१३ मा उक्त संख्या १२ करोड ८० लाखमा झरेको छ।