प्रधानमन्त्री बनेर देश सेवा गर्ने मलालाको चाहना

  • 10 डिसेम्बर 2014
मलाला युसुफजई
Image caption छोरीहरुले पनि पढ्न पाउनु पर्छ भन्ने अभियान चलाएकोमा तालेवानले मलालामाथि गोली प्रहार गरेको थियो

यस बर्षको नोबेल शान्ति पुरस्कार विजेता मध्येकी एक, मलाला युसुफजईले पढाइ समाप्त भएपछि आफू पाकिस्तानको राजनीतिमा प्रवेश गर्ने र एकदिन देशको प्रधानमन्त्री बन्ने उद्देश्य राख्‍ने बताएकी छिन्।

छोरीहरुले पढ्न पाउनु पर्छ भन्ने अभियानकर्ता मलाललाई दुई बर्ष अघि पाकिस्तानमा तालेवानले गोली हानेपछि उनको झण्डै ज्यान गएको थियो। बीबीसीको अन्तर्वार्ता कार्यक्रम “हार्ड टक” का लागि स्टीभन साकरसंग नर्वेको ओस्लोमा बोल्दै उनले आफ्नो भविष्यको राजनीतिक इच्छाका बारे बताएकी हुन्।

मलाला: म मेरो देशको सेवा गर्न चाहन्छु र मेरो सपना के छ भने मेरो देश पनि एउटा विकसित राष्ट्र बनोस् र हरेक बालकले पढ्ने लेख्‍ने अवसर पाओस्।सबैजना देशभक्त हुन्छन् भने जस्तै म पनि देशभक्त हुं र म मेरो देश अघि बढेको हेर्न चाहन्छु।

प्रश्न: पाकिस्तानमा महिला प्रधानमन्त्री भैसकेकि छिन्- बेनजीर भुट्टो। यो तथ्यबाट तपाईंलाई पनि प्रेरणा मिल्ने गरेको छ?

मलाला: निश्चय पनि। र म कहिलेकाहीं भन्ने गर्छु अमेरिकामा अझै पनि महिला राष्ट्रपति बन्न सकेका छैनन्। त्यसैले मेरो देशमा दुई दुई पटक बेनजीर भुट्टो प्रधानमन्त्री बन्न सकेकोमा मलाई गर्व लाग्छ।

प्रश्न: र भविष्यमा तपाईं आफू पनि त्यस्तो पदमा पुग्न असम्भव हुंदैन जस्तो लाग्छ की लाग्दैन?

मलाला: मेरो आशा त्यस्तै छ। र यदि मैले राजनीतिमा लागेर र प्रधानमन्त्री बनेर देशको सर्वोत्तम सेवा गर्न सक्छु भने म निश्चय पनि त्यो अवसरको चयन गर्नेछु।

मलालाले भारतका बालअधिकार अभियानकर्ता कैलाश सत्यार्थीका साथ संयुक्त रुपमा नोबेल शान्ति पुरस्कार प्राप्त हुनु ठूलो सम्मानको कुरा भएको पनि बताइन्।

तस्वीर कपीराइट AFP
Image caption यो बर्षको नोबेल शान्ति पुरस्कार भारतका कैलाश सत्यार्थी र पाकिस्तानकी मलाला युसुफजईलाई संयुक्त रुपमा प्रदान गरिएको छ

मलाला: मलाई पहिले देखि नै बालबालिकाहरु विद्यालय जान पाउनु पर्छ भन्ने धारणा बलियो रुपमा लाग्ने गर्थ्यो त्यसैले मैले त्यसका लागि अभियान नै संचालन गरेकी हुं। अब आएर यो शान्ति पुरस्कार मेरो लागि निकै महत्वपूर्ण भएको छ। यस्ले मलाई वास्तवमै ठूलो आशा दिएको छ, ठूलो साहस दिएको छ। मलाई आफू पहिले भन्दा बलियो भएको अनुभव भएको छ किनभने अब मेरो साथमा धेरै मानिसहरु हुनुहुन्छ। आफ्नो समुदायको हीतमा काम गर्नु ईश्वरप्रति र म आफू प्रति पनि मेरो दायित्वको कुरा हो जस्तो मलाई लाग्छ। म ठान्छु यो मेरो कर्तव्य हो।