वेष्ट बैंक प्रदर्शनमा प्यालेष्टिनी मन्त्रीको मृत्यु

  • 10 डिसेम्बर 2014
तस्वीर कपीराइट Reuters
Image caption यहुदी वस्ती नजिकै इजरेलले हडप्न लागेको प्यालेष्टाइनीहरुको विश्वास छ।

इजरेल अधीनस्थ वेष्ट बैंकमा इजरेली सुरक्षा फौजसंग भएको झडपमा परी एक प्यालेष्टिनी मन्त्रीको मृत्यु भएको छ।

उक्त घटनाको भिडियोमा जियाद अबु आइन छाती समाएर भुईंमा ढलेको देखिन्छ।

प्यालेष्टिनी राष्ट्रपति महमुद अब्बासले उनको मृत्युलाई बर्बरतापूर्ण कार्य भनेका छन्।

एक वरिष्ठ प्यालेष्टिनी अधिकारीले प्यालेष्टाइनले अब इजरेल संगको सुरक्षा समन्वय रोक्ने बताएका छन्।

केही प्रत्यक्षदर्शीहरुका अनुसार मन्त्री आइनलाई अश्रु ग्याँसको क्यानिष्टरले लागेको थियो।

कारण

तर अन्यले उनलाई इजरेली सेनाले हातपात गरेको बताए।

इजरेली सेनाले उक्त घटनाबारे छानबिन गरिरहेको बताएको छ।

केही रिपोर्टहरुका अनुसार अबु आइनलाई पहिल्यैदेखि रहेको बिमारीका कारण उनको त्यसरी निधन हुन पुग्यो।

इजरेली बस्ती विकासका विषयबारे हेर्ने विभागका उनी प्रमुख थिए।

यो घटना उक्त क्षेत्रमा तनाव बढ्दै जाँदा हुन पुगेको छ।

बितेका केही सातायता ११ जना इजरेलीको हत्या भएको छ।

सहभागी

जसमध्ये ५ जनाको मृत्यु जेरुसलेमस्थित यहुदीहरुको एउटा धार्मिक स्थल सिनागगमा भएको छुरा तथा गोली प्रहारको घटनामा भएको हो।

त्यस्तै यही अवधिमा अधिकांश हमलाकारी सहित १३ जना प्यालेष्टिनी मारिएका छन्।

इजरेलको सरकारद्वारा सञ्चालित एक समितिबाट भएका भूमि कब्जा विरुद्ध आयोजना गरिएको विरोध प्रदर्शनमा मन्त्री आइन सहभागी गिए।

शीलो नामक यहुदी वस्तीनजिकै जैतुनका विरुवाहरु रोप्ने उनीहरुको योजना थियो।

उक्त ठाउँलाई इजरेलले हडप्न लागेको प्यालेष्टिनीहरुको विश्वास छ।

जेसुकै कारणबाट उनको ज्यान गएको भए पनि आइनको मृत्युलाई लिएर तनाव बढ्ने देखिन्छ।