सीआइए निर्देशकद्वारा कारवाहीहरुको बचाउ

  • 10 डिसेम्बर 2014
सिनेटर तस्वीर कपीराइट AP
Image caption छानबिन र अध्यनको अगुवाइ गरेकी सिनेटर डाएन फेन्स्टेइनले सीआइएको आलोचना गरिन्।

अमेरिकी गुप्तचर संस्था सीआइएले सेप्टेम्बर ११का हमलापछि सोधपुछका क्रममा क्रुर तरिका अपनाएको खुलासा गर्ने प्रतिवेदन सार्वजनिक भएपछि सीआइएको कडा आलोचना भइरहेको छ।

अमेरिकी सिनेटले तयार पारेको सो प्रतिवेदनले सीआइएले सोधपुछका क्रममा अपनाएका कतिपय तौर-तरिका यातना जस्तै भएको उल्लेख गरेको छ।

तर सीआइएका निर्देशकले आफ्ना कामकारवाहीको बचाउ गरे।

जन ब्रेननले केहि गल्ती कमजोरी भएको भएपनि सीआइएले अपनाएका उपायहरुले हमलाहरुबाट बचाउन, आतंकवादीहरुलाई पक्रिन र जीवनहरु जोगाउन सहयोग पुर्याएको बताए।

तर सिनेटरहरुले त्यस्ता तौर-तरिका अपनाउने सीआइएको कदमको भर्त्सना गरेका छन्।

'न्यायपूर्ण समाज'

निदाउँन नदिने, पानीको प्रयोग गर्ने र कुटपिट गर्ने जस्ता कार्य क्रुर र निष्प्रभावी भएको सो प्रतिवेदनले औंल्याएको छ।

छानबिन र अध्यनको अगुवाइ गरेकी सिनेटर डाएन फेन्स्टेइनले केहि तथ्यहरु ले क्रुरता स्पष्ट रुपमा झल्काएको बताइन्।

उनले भनिन्, “इतिहाँसले न्यायपूर्ण समाज र कानूनी साशनप्रतिको हाम्रो प्रतिबध्दताका आधारमा हाम्रो मूल्याङ्कन गर्ने छ।“

राष्ट्रसंघीय विशेष प्रतिनिधीले बुश प्रशासनले त्यसबारे स्पष्ट नीति नै लिएको र त्यसबाट कानूनको गम्भीर उल्लंघन भएको पछिल्लो प्रतिवेदनले देखाएको बताए।

प्रतिबेदनबारे प्रतिक्रिया दिंदै ब्रिटिश प्रधानमन्त्री डेविड् क्यामरनले यातना जहिले पनि गलत हुने र सरकारहरुले नैतिक हैसियत गुमाउन नहुनेमा जोड दिए।