सिआइएको सोधपूछ गर्ने तरिकाको निन्दा

  • 11 डिसेम्बर 2014
तस्वीर कपीराइट AP
Image caption अफगानिस्तानमा भएका यातनाबारे छानबिन गरिने अशरफ गनीले बताएका छन्

अमेरिकी केन्द्रीय गुप्तचर निकाय सिआइएले अवलम्बन गरेको सोधपूछका तरिकाहरुको आलोचना भईरहेका बेला अफगानिस्तानका राष्ट्रपति अशरफ गनीले ती विधिहरु क्रुर भएको आरोप लगाएका छन्।

सिआइएको तरिकाबाट मानवअधिकारको विश्वव्यापी मान्यताको उंल्लघन भएको बताए।

अल कायदाका संदिग्धहरुसंग सोधपूछ गर्ने सिआइएको तौरतरिकाको निन्दा गर्ने विश्वका नेताहमध्ये अफगान राष्ट्रपति पनि एक हुन्।

बुधबार आयोजित एउटा पत्रकार सम्मेलनमा अफगानी राष्ट्रपति गनीले अध्ययन प्रतिवेदनले स्तब्ध बनाएको बताए।

यातना

गत सेप्टेम्बरमा राष्ट्रपति बनेका उनले भने, “यस्ता कार्य र मानिसहरुलाई दिईएको यातनालाई विश्वमा कही पनि बचाउ गर्न सकिंदैन।”

उनले अफगानिस्तानस्थित अमेरिकी बन्दीगृहमा कति जना अफगान नागरिकहरु सिआइएको यातनाबाट पीडित भएका थिए भन्ने विषयमा छानबिन गरिने प्रतिबद्धता व्यक्त गरे।

सोधपूछ गर्ने सिआइएको तरिकाबारे अमेरिकी सिनेटको एउटा अध्ययन प्रतिवेदनले कठोर तरिका षड्यन्त्रहरुलाई विफल तुल्याउने कुनै अद्वीतीय तरिका नभएको जनाएको छ।

तस्वीर कपीराइट Getty
Image caption सिआइले आफ्नो कदमबाट धेरै मानिसहरुको ज्यान बचेको दाबी गरेको छ

सिआइएले आफ्नो कार्यक्रमबारे राजनीतिज्ञ र जनतालाई भ्रममा राखेको उक्त प्रतिवेदनको ठहर छ।

कारागार

सेप्टेम्बर ११ को आक्रमणपछि आफूले चालेको कदमको बचाउ गर्दै सिआइएले उक्त कदमबाट धेरैक ज्यान जोगिएको दाबी गरेको छ।

सिआइएको केही गतिविधि यातनाजन्य भएको स्वीकार्दै राष्ट्रपति बराक ओबामाले अब अगाडि बढ्ने समय भएको बताएका छन्।

सिनेटको प्रतिवेदनमा कुन मुलुकस्थित कारागारमा त्यस्तो यातना दिईएको भन्ने उल्लेख गरिएको छैन्।

यद्यपि केही संदिग्ध मुलुकहरुले सार्वजनिक गरिएको उक्त प्रतिवेदनप्रति कडा प्रतिक्रिया दिएका छन्।