'जिहादी हिंसामा एक महिनामै ५ हजारको मृत्यु'

  • 11 डिसेम्बर 2014
Image caption खासगरी जिहादी हिंसाबाट विश्वका १४ विभिन्न मुलुकहरुमा हताहति भएको देखिएको छ

अल कायदा, उक्त संगठनका अन्य शाखा र उसको जस्तै धर्मिक मान्यता राख्‍ने समूहहरुका कारण गत नोभेम्बर महिना भर भएका हिंसामा परी पांच हजार जना भन्दा बढीले ज्यान गुमाएको बीबीसीको अनुसन्धानले देखाएको छ।

ती मृत्युहरुको विश्लेषणबाट त्यस्तो जिहादी हिंसाबाट विभिन्न चौधवटा देशमा हताहतीहरु भएको देखिएको छ।

सबैभन्दा धेरै मानिसहरुको ज्यान इराक, नाइजेरिया, अफगानिस्तान र सिरियामा गएको थियो।

जिहादी

उक्त अनुसन्धान जिहादी हिंसाका कारण एक महिनामा विश्वभर मानिसहरु मारिएका घटनाहरुको सांख्यिक विवरण तयार पार्ने उद्देश्यले गरिएको थियो।

हालसम्म उपलब्ध सबैभन्दा विश्वसनीय स्रोतहरुको प्रयोग गरी बीबीसीले लण्डनको किंग्स कलेजको एउटा अनुसन्धान निकायसंग मिलेर अल कायदा, उक्त संगठनका अन्य शाखाहरु र अलकायदाको जस्तै विचारधारा अबलम्बन गर्ने अन्य समूहहरुको आक्रमणका क्रममा मारिएका मानिसहरुको संख्या गन्ने कार्य गरिएको थियो।

त्यसो गर्दा विश्वका विभिन्न १४ देशमा नोभेम्बर महिनामा मात्र मारिएका मानिसहरुको संख्या पांचहजार बयालिस रहेको पाइयो।

जसमा आफूलाई इस्लामिक स्टेट भन्ने समूह जिम्मेवार रहेको हिंसामा इराक र सिरियामा मात्रै दुईहजार जना भन्दा बढी मारिएका तथ्यांक पनि संलग्न छ।

हिंसाका लागि जिम्मेवार दोस्रो ठूलो समूह, नाइजेरियास्थित बोको हराम देखा परेको छ, जसले थोरै संख्यामा तर ठूलो स्तरको हमलाहरु गरेको थियो।

नोभेम्बर महिनामा मारिएका झण्डै एकहजार जना आफूलाई जिहादी भन्ने लडाकुहरु बाहेक मृत्यु हुनेहरुको संख्याको लगभग आधा भन्दा बढी गैरसैनिक नागरिकहरु रहेका छन्।

हताहति

जिहादी हिंसामा भएका बांकी हताहति चाहिं लडाईंको मैदानमा मारिएका सैनिकहरु छन्।

आक्रमणहरुमा जिहादीहरुले फरक फरक तरिका अपनाएका देखिएको छ।

उनीहरुले सानो स्तरको गोली प्रहारका घटना, एम्बुश हमला, तोप आक्रमण देखि ठूलो स्तरको बम हमलाहरु पनि गरेका छन्।

जिहादी हिंसामा झण्डै पचास जनाको घांटी काटेर गरिएको हत्या पनि संलग्न छ।

उक्त अनुसन्धानले एउटा त्यस्तो चलायमान र जटिल गतिविधिको चित्रण गरेको छ जस अन्तर्गत नोभेम्बर महिनामा मात्रै विश्वभर प्रति घण्टा झण्डै सात जनाको ज्यान गएको थियो।