एसएलसी नतीजामा पास, फेल उल्लेख नहुने

  • 11 डिसेम्बर 2014
Image caption समग्र पठनपाठनमा सुधार नल्याई ग्रेड प्रणालीले मात्र केही प्रगति नहुने शिक्षाविदहरु बताउँछन्

कतिपय विकसित देशहरुमा जस्तै स्कूले परीक्षाको नतीजामा पास वा फेल उल्लेख नगरी ग्रेड दिने प्रणालीलाई नेपालको वार्षिक एसएलसी परीक्षामा लागू गर्ने सरकारले गरेको निर्णयलाई शिक्षाविदहरुले सकारात्मक भनेका छन्।

तर समग्र पाठ्यक्रमको गुणस्तर तथा सिकाउने पद्धति मा सुधार नगरीकन ग्रेड प्रणाली मात्रले शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान नहुने उनीहरुको भनाई छ।

विगतमा ठूलो संख्यामा विद्यार्थीहरु एसएलसी मा फेल हुने गरेको भन्दै शिक्षा पद्धतिको व्यापक आलोचना भएपछि सरकारले यसपाली प्राविधिक धारका स्कूलहरुबाट शुरु गरी आउँदो बर्ष देशभरका सबै स्कूलहरुमा ग्रेड प्रणाली लागू गर्ने निर्णय गरेको हो।

‘वैज्ञानिक’

पास वा फेलको साटो ग्रेड दिएर विद्यार्थीको विषयगत ज्ञान मापन गर्ने प्रणाली अपनाउने शैलीलाई विश्वभर शिक्षाविदहरुले बढ्ता वैज्ञानिक मान्छन्।

त्यसैको सिको गर्दै नेपालले पनि विगतमा 'फलामे ढोका' भनेर चिनिने गरेको एसएलसी परीक्षामा आमूल परिवर्तन गर्ने निधो गरेको हो।

जसलाई शिक्षाविद#हरुले एक कदम अगाडि बढेको रुपमा त हेरेका छन्, तर त्यससंगै अन्य थुप्रै विषयहरु सुधार हुनुपर्ने उनीहरुले औंल्याएका छन्।

शिक्षाविद केदारभक्त माथेमाले भने, “ए, बी, सी ग्रेडले केटाकेटीको ज्ञानको स्तरबारे अलि बढी व्याख्यात्मक जानकारी दिन्छ। त्यसमानेमा यो अलि बढि राम्रो पक्कै हो। तर अन्त्यमा हुनुपर्ने राम्रो त पठनपाठन नै हो। चाहे अंक देउ वा ए बी सी डि देऊ, पढाइ नै राम्रो हुनु पर्छ।”

कोही ‘फेल’ नहुने

सरकारको पछिल्लो निर्णय अनुसार अर्को वर्ष प्रवेशिका परीक्षा दिने देशभरका विद्यार्थीहरुको मार्कशीटमा पास फेल को साटो ए, बी, सी, डी, ई सम्मका श्रेणीगत विभाजन अंकित हुनेछन्।

कसैले फेल हुनुपर्ने छैन।

त्यसबारे व्याख्या गर्दै पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक दिवाकर ढुंगेलले भने, “विद्यार्थीलाई निश्चित ग्रेड दिइन्छ। जस्तो ९० देखि १०० ल्याउनेलाई आउटस्ट्यान्डिङ्ग भनेर ए प्लस ग्रेड दिइन्छ। ८० देखि ८९ ल्याउनेलाई एक्सिलेन्ट भनेर ए दिइन्छ। ६० देखि ७९ लाई बी वा भेरी गुड अनि ४० देखि ५९ लाई सी वा गुड दिइन्छ। त्यस्तै २५ देखि ३९ लाई डि, पुअर अनि २५ भन्दा मुनि ल्याउनेलाई ई, भेरी पुअर दिइन्छ।”

सबै किसिमको ग्रेड ल्याउने विद्यार्थीले कलेज भर्ना भई पढाईलाई थप अघि बढाउन सक्छन्।

सी, डि वा ई ग्रेड ल्याउने विद्यार्थीहरुको हकमा भने उनीहरुले आफ्ना ग्रेड सुधार्न चाहेको खण्डमा मौका परीक्षा पनि दिन पाउनेछन्।

यसो गर्नुको उद्देश्य परीक्षालाई पास, फेल गराउने माध्यमको रुपमा हेर्ने विद्यमान दृष्टिकोणलाई विस्थापित गरी सबै विद्यार्थीलाई आ आफ्ना क्षमता र प्रतिभा अनुसार अघि बढ्न बाटो खोल्दिनु रहेको अधिकारीहरुको भनाइ छ।

“हिजोका दिनमा फेल भन्दिएपछि उनीहरुको शिक्षा आर्जनमा ब्रेक लाग्ने गर्थ्यो। मौका परीक्षामा पनि फेल हुन सक्थे। अब त्यस्तो हुँदैन। अब त्यसरी विकास अवरुद्ध हुँदैन। कुनै न कुनै कलेजमा अनि कुनै न कुनै ठाउँमा पढ्ने अवसर यथावत रहनेछ,” ढुंगेलले भने।

विद्यमान शिक्षा प्रणाली निकै कमजोर रहेको धारणा व्यापक रहेका बेला पुरानो रक्सीलाई नयाँ बोतलमा हाल्ने शैलीले मात्र शिक्षामा गुणस्तर र समानताको सम्बोधन भइहाल्नेमा भने धेरैको आशंका कायम नै छ।