खेलकुदमा हुने भ्रष्टाचार रोक्ने कानुन अनुमोदन

  • 12 डिसेम्बर 2014
सेप ब्ल्याटर तस्वीर कपीराइट BBC World Service
Image caption फिफाका ब्ल्याटरजस्ता वरिष्ठ खेल अधिकारीलाई कानुनले अब नयाँ वर्गमा राख्नेछ

स्वीटजरल्याण्डमा खेलकूद क्षेत्रमा हुने भ्रष्टाचारलाई नियन्त्रण गर्ने उद्देश्यले बनाइएको नयाँ कानुन अनुमोदन भएको छ।

लेक्स फीफा नाम दिइएको उक्त पारित विधेयकले फिफाका अध्यक्ष सेप ब्लाटर जस्ता स्वीट्जरल्याण्डमा रहेका वरिष्ठ खेल अधिकारीहरुलाई पनि विश्वका अन्य भ्रष्ट वा सम्पत्ति शुद्धिकरणमा संलग्न रहेको आशंका गरिएका निकायहरुलाई जस्तै ‌आर्थिक अनुगमनको घेरामा राख्‍नेछ।

हाल स्वीट्जरल्याण्डमा फिफा, युएफा र अन्तर्राष्ट्रिय ओलिम्पिक कमिटी जस्ता दर्जनौं अन्तर्राष्ट्रिय खेल निकायका मुख्यालयहरु रहेका छन् र ती मध्ये केहीलाई हालैका वर्षहरुमा आर्थिक अनियमितताका आरोपहरु लागेका छन्।

परिवर्तन

हालसम्म स्वीट्जरल्याण्डमा मुख्यालय रहेका खेलकुदका प्रशासकीय निकायहरु प्राइभेट सोसाइटीको हैसियतमा संचालित थिए र तिनीहरुलाई सुविधाजनक कर छुटका साथै भ्रष्टाचार सम्बन्धी स्वीस कानूनबाट सामान्यतया उन्मुक्ति जस्तै प्राप्त थियो।

अब नयां कानुनले त्यो स्थितिमा परिवर्तन ल्याउने छ।

फिफाका सेप ब्लाटर जस्ता वरिष्ठ खेल अधिकारीलाई अब उक्त कानून अनुसार राजनीतिक रुपमा परिचित व्यक्तिहरु भन्ने नयां वर्गमा राखिने छ।

हाल स्वीस अधिकारीहरुले घुसखोरी वा सम्पत्ति शुद्धिकरण गर्न सक्ने कार्यमा संलग्न हुनसक्ने आशंका भएका सरकारी अधिकारीहरुको हकमा त्यस्तो शब्दावलीको प्रयोग गर्ने गरेका छन्।

त्यस्तो वर्गमा इजिप्टका भूतपूर्व राष्ट्रपति होस्नी मुबारक र लिबियाका नेता मुअम्मर गद्दाफी पर्ने गर्दथे।

सम्पत्ति शुद्धिकरणको समस्यासंग जुध्ने उद्देश्यले तयार पारिएका उपायहरुको एउटा समग्र प्याकेजको एक भागका रुपमा ल्याइएको उक्त नयां कानूनले स्वीस अधिकारीहरुलाई खेलकुदका प्रशासकीय निकाय र तिनका अधिकारीहरुको आर्थिक मामिलामाथि अझ कडा नियन्त्रण गर्ने अधिकार प्रदान गरेको छ।

फुटबल खेलको विश्व प्रशासकीय निकाय फिफामाथि विश्वकप फुटबलको आयोजना स्थल छनौट गर्ने क्रममा भएको भनिएको भ्रष्टाचार तथा घुसखोरीको आशंकाको विषयमा जारी गम्भीर आलोचनाका माझ यस्तो नयां स्वीस कानुन पारित भएको हो।