मधेसी मोर्चाभित्र ध्रुविकरण

  • 14 डिसेम्बर 2014
तस्वीर कपीराइट upendra yadav facebook
Image caption उपेन्द्र यादव नेतृत्वको फोरमले सत्ता र संघीयताबारे फरक मतहरु राख्दै आएको छ

तराई केन्द्रित ६ वटा दलहरु सम्मिलित संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका घटकहरुबीच सत्ताको विषयलाई लिएर भएको आरोप प्रत्यारोपले मोर्चाभित्र ध्रुविकरण निम्त्याउने तराई मामिलाका विश्लेषकहरुको ठहर छ।

खासगरी मोर्चा हुँदा-हुँदै मधेसी जनअधिकार फोरम नेपालले संविधानको अन्तरवस्तुमा आफ्नो छुट्टै धारणा राख्नु तथा मोर्चाकै केही दलका नेताले छुट्टा-छुट्टै सत्ताधारी दलका नेतासँग भेटेको विषयलाई लिएर मोर्चासम्बद्ध दलहरुमाझ केही खटपट देखिएको छ।

तराई केन्द्रित दलहरुले केही साता अगाडि ब्युँताएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्ध उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरम नेपालले तराईमा एक प्रदेश मात्रै हुने गरी नौ वटा प्रदेशको संघीयताको ढाँचा संविधानसभाको संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिमा बुझाएपछि मोर्चाभित्रको विवाद सतहमा आएको हो।

सत्तामा जाने कि नजाने भन्ने विषयमा यादव नेतृत्वको फोरमबाहेकको मोर्चा नेकपा एमालेसँगको छलफलमा निरन्तर सक्रिय छ।

आलोचना

मोर्चाले तत्काल सत्तामा नजाने बताउँदै आएपनि यादवले शुक्रबार तराई केन्द्रित दलका नेताहरुले तराईका मुद्दा कमजोर पार्नका लागि सरकारमा जान तयार भएको भन्दै कडा आलोचना गरेका थिए।

मोर्चाका अन्य घटकले भने फुटको वातावरण सिर्जना गरेर यादव स्वयंले तराईको मुद्दालाई कमजोर बनाएको प्रतिक्रिया दिएका छन्।

यस्तो परिस्थितिले मोर्चाभित्रै तीव्र ध्रुविकरण बढेको तराई मामिलाका जानकार तुलानारायण साहले बताए।

उनले भने, “ यसले मधेसको राजनीतिलाई आगामी दिनमा ध्रुविक्रित गर्ने हो। एउटा आन्दोलन गरेर अगाडि बढ्ने र अर्को काठमाण्डुको सत्तासँग मिलेर अगाडि बढ्ने खालकाहरुबीचको ध्रुविकरण हुन्छ।”

हितैषी

तराईको मुद्दालाई स्थापित वा विस्थापित गराउनेभन्दा पनि आफ्नो राजनीतिक भविष्यलाई बलियो बनाउन नेताहरुबीच विवाद चर्किएको तराई मामिलाका अर्का विश्लेषक चन्द्रकिशोरको बुझाई छ।

उनले भने, “संविधान निर्माण पश्चात प्रादेशिक राजनीतिमा मधेसी दलका नेताहरुका आ-आफ्नै महत्वाकांक्षा छन्। को चाहिं क्रान्तिकारी रुपमा देखा पर्ने, को चाहिं मधेसको हितैषी देखिने भन्ने प्रतिस्पर्धा झैं छ। त्यसका लागि यो चलखेल भईरहेको छ।”

२०६३ सालको आन्दोलन यता तराईमा मुलत तीनवटा दलहरु मधेसी जनअधिकार फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टी क्षत्रीय दलका रुपमा उदाएका थिए।

तर पहिलो संविधानसभाको निर्वाचनपछि यी दलहरु थुप्रै टुक्रामा विभाजन भए।

टुटफुटका बावजुद तराईका मुद्दाहरु एकीकृत रुपमा उठान गर्न बनेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र पनि खटपट भने रोकिएको छैन्।