मध्यावधि चुनावमा आबेको जितको प्रक्षेपण

  • 14 डिसेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption प्रधानमन्त्रीले आफ्नो नामबाट ल्याएको आबेनोमिक्स नीतिमार्फत जापानलाई पुन विश्वको केन्द्रमा ल्याउने बताउँदै आएका छन्

जापानमा भएको संसदीय मध्यावधी चुनावमा मतदान गरेकाहरुसँग गरिएको सर्वेक्षणले प्रधानमन्त्री शीन्जो आबेको लिबरल डेमोक्रेटिक पार्टीले सहज जित हासिल गरेको त्यहाँका सञ्चार माध्यमहरुले प्रक्षेपण गरेका छन्।

तर उक्त दलले सुपर मेजरिटी अर्थात तल्लो सदनमा दुइ तिहाइ सिट भने जित्न नसक्ने ठानिएको छ।

अब उक्त दलले बुद्धिस्टहरुले समर्थन गरेको कोमेइ दलसँग पुन गठबन्धन गर्ने ठानिएको छ।

मतदातामाझ रहेको उदासिनता तथा देशका कतिपय भागमा भएको भारी हिमपातका कारण मतदाताहरुको संख्या भने कम रहेको थियो।

मन्दी

प्रधानमन्त्री आबेले आफूले थालेको आर्थिक पुनर्निमाणलाई सहयोग पुर्याउनको लागि आह्वान गरेको ताजा मतदानमा लाखौं जनताले मत खसालेका छन्।

मतदाताहरुले जापानी संसदको तल्लो सदनमा रहने ४ सय ७५ स्थानका लागि मतदान गरेका छन्।

सन् २०१२ मा निर्वाचित भए पश्चात आबेले आर्थिक क्षेत्रलाई जागृत गराउन सार्वजनिक खर्च र नोट छाप्ने परिमाण दुबै बढाएका थिए।

शुरुमा केही बृद्धि भए पनि यो वर्षको पछिल्लो समयमा जापान पुन आर्थिक मन्दीमा फसेको थियो।

विश्व बैंकका अनुसार जापान विश्वको तेस्रो ठूलो अर्थतन्त्र भएको देश भए पनि हालैका वर्षमा यसको अर्थतन्त्र संघर्षशील छ।

यद्यपी आबेनोमिक्स भनिने आफ्नो नामबाट थालेको नीतिले जापानको आर्थिक अवस्थालाई सही मार्गमा ल्याउने आबेले बताएका छन्।