अश्वेत व्यक्तिहरु मारिएको विरोधमा प्रदर्शनहरु

  • 14 डिसेम्बर 2014
प्रदर्शनकारीहरु तस्वीर कपीराइट Reuters
Image caption अधिकांश प्रदर्शनकारीहरुले गार्नरको हत्याका कारण आफूहरु प्रदर्शनमा सहभागी हुन आएको बताएका थिए

गोरा जातिका प्रहरीहरुद्वारा हालै अश्वेत व्यक्तिहरु मारिएको विरोधमा अमेरिकाको राजधानी वासिङ्गटन डीसीमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्।

मिजुरीमा प्रहरीको गोलीबाट मारिएका किशोर माइकल ब्राउन र न्युयोर्कमा थुनिएका बेला मारिएका एरिक गार्नर लगायतका आफन्तहरु समेत प्रदर्शनमा सहभागी थिए।

माइकल ब्राउन र एरिक गार्नर गोरा जातिका प्रहरीद्वारा मारिएपनि न्यायिक प्रक्रियामा सघाउनका लागि गठित समितिहरुले मुद्दा चलाउन नपर्ने निर्णय सुनाएका थिए।

चिसो मौसममा पनि न्युयोर्कमा हजारौं मानिसहरुले प्रदर्शन गरेका छन्।

उनीहरुले कानूनमा सुधारको माग गरे।

कडा सुरक्षा

माइकल ब्राउनकी आमाले भनिन्, “कति धेरै मानिसहरु, उनीहरुले यो मानवसागरलाई देखेनन् र कानूनमा परिवर्तन ल्याएनन् भने थाहा छैन् हामी के गर्छौं।”

वासिङ्गटन डीसीमा स्थिति शान्त देखिएपनि प्रदर्शनकारीहरु अटेरी देखिएका थिए तर ठूलो संख्यामा प्रहरी तैनाथ गरिएका थिए।

प्रदर्शनकारीहरुको वास्तविक संख्या तत्काल थाहा हुन सकेन।

प्रदर्शनमा गोरा र अश्वेत दुवै जातिका मानिसहरु देखिन्थे।

केही मानिसहरुले बोकेका ब्यानरहरुमा ‘जातिविरोधी प्रहरी बन्द गर’, ‘म सास फेर्न सक्दिन’, ‘राष्ट्रपति ओबामा यो अवसरलाई सदुपयोग गर, पुर्खाहरुले हेरिरहेका छन्’ जस्ता नारा लेखिएका थिए।

न्युयोर्कको प्रदर्शनमा बोल्दै एरिक गार्नरकी आमाले प्रदर्शनलाई इतिहास रच्ने पलको संज्ञा दिईन्।

“हामीसंगै आउने सबैलाई देखेर खुशी भईरहेको छ। मेरो मतलब भीडलाई हेर्नुस्। अश्वेत, गोरा सबै जाति र धर्मका छौं। सधैं यसरी नै एकसाथ उभियौं।”

बीबीसीकी रजिनी वैद्यानाथनसंग कुरा गर्ने प्रदर्शनकारीहरुमध्ये अधिकांशले गार्नरको हत्याका कारण आफूहरु प्रदर्शनमा सहभागी हुन आएको बताए।