'सिड्नी बन्धक प्रकरण सकियो'

  • 15 डिसेम्बर 2014
सिड्नी बन्धक प्रकरणको नक्शा तस्वीर कपीराइट BBC World Service
Image caption प्रहरीले घटनास्थल वरिपरि घेराबन्दी कडा पारेको थियो

अष्ट्रेलियाको सिड्नी शहरको एउटा क्याफेमा सशस्त्र प्रहरीहरु प्रवेश गरी झण्डै १६ घन्टा लामो बन्धक प्रकरण अन्त्य गरीदिएका छन्।

एकजना इरानी बन्दूकधारीले केही मानिसहरुलाई बन्धक बनाइ राखेका उक्त क्याफेभित्र प्रहरीहरु बलपूर्वक प्रवेश गरेका थिए।

त्यहां ठूलो विस्फोटका आवाजहरु सुनिएको थियो र केही बन्धकहरु हात उठाउँदै प्रहरी तर्फ दौडँदै आएका थिए।

आवाज

त्यसपछि त्यहां गोलीको आवाज सुनिएको थियो।

क्याफे रहेको भवनमा अलार्मको घण्टी बजीरहंदा प्रहरीले एकजना महिलालाई बोकेर बाहिर ल्याएका थिए।

अन्यलाई आपत्कालीन स्वास्थ्य उपचार गरिएको थियो।

बन्धक प्रकरणलाई लिएर भएको यस्तो प्रकारको प्रहरी कार्वाही अष्ट्रेलियाको सबै भन्दा ठूलो शहरले यसअघि कहिल्यै भोग्नु परेको थिएन।

तस्वीर कपीराइट Getty

लिन्ट क्याफे भित्र कतिजना बन्धक छन् भने स्पष्ट हुन सकेको थिएन, तर बिहान यो घटना आरम्भ भएको केही समय पछि नै नाटकीय रुपमा केही मानिसहरु उक्त क्याफे रहेको भवनबाट भागेर बाहिर निस्केका दृश्यहरु देखिएका थिए।

बन्धक

उक्त क्याफे संचालन गर्ने स्वीस चकलेट कम्पनी लिन्टले तीसजनाजति ग्राहक र दशजना कर्मचारी बन्धक बनाएको जनाएको थियो, तर प्रहरीले बन्धकहरुको संख्या त्यो भन्दा कम हुनसक्ने बताएको थियो।

क्याफे भित्र बन्धकहरु बनाइराखेको बन्दूकधारीलाई पनि आक्कल झुक्कल देखिएको थियो।

ती व्यक्ति ४९ बर्षीय इरानी शरणार्थी हारोन मोनिस भएको प्रहरी जनाएको थियो।

उनी विभिन्न हिंसात्मक घटनाहरुका सिलसिलामा पक्राउ परेर धरौटीमा निस्किएका थिए ।

तस्वीर कपीराइट EPA
Image caption ४९ बर्षिय इरानी शरणार्थी हारोन मोनिस क्याफेमा मानिसहरुलाई बन्धक बनाउने बन्दूकधारी रहेको प्रहरीले जनाएको थियो

उनलाई समुद्रपारी खटिएका अष्ट्रेलियाली सैनिकका अभिभावकलाई दुर्व्यवहारपूर्ण पत्र लेखेको अभियोगमा दोषी ठहर गरिएको थियो।

बन्दुकधारीले क्याफेको सिसाको झ्यालमा केही बन्धकहरुलाई अरबी अक्षर लेखिएको कालो झण्डा बोकेर उभिन लगाएका थिए।

अष्ट्रेलियाली मुसलमान समूहहरुले उक्त घटनाबाट आफूहरु स्तब्ध भएको र बन्धकहरुको सुरक्षाका लागि आफूहरुले प्रार्थना गरिरहेको बताएका थिए।