माथिल्लो भोटेकोशीमा थप अन्यौल

  • 16 डिसेम्बर 2014
Image caption विवाद बढेपछि उर्जामन्त्रीले दुबै पक्षलाई छलफलमा राखेर विवाद समाधान गर्न खोजे पनि त्यो सफल हुन सकेन

माथिल्लो भोटेकोशी जलविद्युत आयोजनालाई लिएर झन्डै तीन महिनायता जारी विवाद समाधानको प्रयासमा उर्जामन्त्रीले मंगलबार बोलाएको छलफलमा दलका प्रतिनिधिहरु अनुपस्थित भएपछि थप अन्यौल बढेको छ।

यसअघि स्थानीय बासिन्दालाई शेयरको माग गर्दै आएका राजनितिक दल र व्यवस्थापन पक्ष बिचमा भएका वार्ताहरुमा कुनै सहमति हुन नसकेपछि उर्जामन्त्रीले पछिल्लो पहल गरेको बताइएको छ।

सरकारद्वारा सम्झौता गरिएका पछिल्ला जलविद्युत आयोजनामा स्थानीय वासिन्दाका लागि १० प्रतिशत शेयरको व्यवस्था गरिए पछि माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा पनि त्यतिनै शेयरको माग गर्दै दलहरुले बिरोध शुरु गरेका थिए।

दुई समुहमा विभाजित भएका दलहरुका मागहरु पनि फरक फरक रहेका छन्।

एउटा समुहले १० प्रतिशत शेयर र अर्को पक्षले २२.५ प्रतिशत माग गरेको छ।

सम्झौता

आयोजना व्यवस्थापन पक्ष र शेयरको माग गर्दै आन्दोलनमा रहेका दलहरु बिचमा धेरै चरणमा वार्ता समेत भएको र ती सहमतिमा पुग्न नसकेको बताइएको छ।

विदेशी समेत लगानीकर्ता रहेको व्यवस्थानसँगको छलफल पछि आफुहरु पाँच प्रतिशत सम्मको शेयर दिन तयार रहेको लगानीकर्ताको टोलीका संयोजक शम्भु दाहालले बताए।

उनले भने, "यो भन्दा बढने अवस्था छैन, पाँच प्रतिशत निशुल्क शेयर दिन तयार छौं, त्यसैमा सम्झौता हुन्छ भन्ने विश्वास लिएका छौं।"

जुरे पहिरोबाट क्षतिग्रस्त बन्न पुगेको उक्त आयोजनाको सात वटा टावर निर्माण कार्य भैरहेकै बेला शुरु भएको बिरोधका कारण उत्पादित बिद्युत, प्रसारण लाईनमा जोडिन पाएको छैन।

विवाद प्रधानमन्त्रीसम्म पुगेपछि उर्जामन्त्री राधा ज्ञवालीले मंगलबार दुबै पक्षलाई राखेर छलफल गर्न खोजे पनि दलहरु बिचकै विवादका कारण सफल हुन नसकेको बताइएको छ।

विरोध

१० प्रतिशत शेयरको माग गर्दै आएको काँग्रेसले अर्को पक्षले उठाएको २२.५ प्रतिशतको शेयरमा लचकता नआएसम्म वार्ताको अर्थ नरहने बताएको छ।

काँगेसका सभासद मोहन बस्नेतले भने "उनीहरु आफ्नै अडानमा रहने हो भने वार्ताको ‌औचित्य छैन, लागानीकर्ता पनि सुरक्षित हुने र स्थानीयको पनि माग पुरा हुने गरी गर्नु पर्छ।"

२२.५ प्रतिशत शेयरको माग गर्दै आएका नेकपा एमाले र एकीकृत नेकपा माओवादी पक्षले भने आफ्ना मागहरु जायज रहेको र आयोजनाले त्यसैमा सम्झौता गर्नुपर्ने बताउँदै आएका छन्।

माथिल्लो भोटेकोशी जलविद्युत आयोजनामा शेयरको विषयमा विवाद भइरहँदा हाल निर्माणको चरणमा रहेको सिन्धुपालचोकमै रहेको अर्को बिद्युत आयोजना मध्य भोटेकोशीमा पनि कर्मचारी नियुक्ति, मुअाब्जा लगायतका विषयलाई लिएर बिरोध शुरु भए पछि त्यहाँको काम समेत प्रभावित भएको बताइएको छ।