आयल निगमले तेलको मुल्य 'अधिकतम घटाउने'

  • 17 डिसेम्बर 2014
तस्वीर कपीराइट noc
Image caption नाफाबाट भारतीय आयल निगमको ऋण चुक्ता गरेको नेपाली निगमले जनाएको छ

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारको अनुपातमा नघटाइएको भनेर आलोचना भइरहंदा नेपाल आयल निगमले मूल्यमा अधिकतम कटौती गरी, सम्भवत: बुधबारै नयाँ मूल्यसूचि निकाल्ने तयारी गरिरहेको अधिकारीहरुले बताएका छन्।

अन्तर्राष्ट्रिय मूल्य बढी हुंदा उपभोक्तालाई सोभन्दा कममा पेट्रोलियम पदार्थ उपलब्ध गराउन बनाइएको एउटा विशेष कोषमा यसपटक नाफा रकम जम्मा नगरी मूल्य कटौती गर्ने तयारी भएको जनाइएको छ।

कोशिस

स्वचालित मुल्य प्रणाली अनुसार भारतीय आयल निगमले पेट्रोलियम पदार्थको मुल्य सूची आफुहरुलाई पठाइसकेको र सकेसम्म बढी मूल्य घटाएर नयाँ मूल्य निर्धारण गर्ने नेपाल आयल निगमले जनाएको छ।

हाल निगमले पेट्रोलमा प्रति लिटर झण्डै १६ रुपैयाँ र डिजेलमा झण्डै पाँच रुपैयाँ नाफा राख्दै आएको छ। उक्त नाफाबाट प्रति लिटर पाँच रुपैयाँको दरले निगमले मुल्य स्थिरीकरण कोषमा जम्मा गर्ने गरेको छ।

अन्तरष्ट्रिय बजारमा मुल्य बृद्धि भएको अवस्थामा सोही कोषबाट रकम प्रयोग गरी उपभोक्तालाई सो भन्दा कम मुल्यमै तेल उपलब्ध गराउन उक्त कोष खडा गरिएको हो।

यसपटक कोषमा जाने उक्त रकममा पुनर्विचार गरी मूल्य घटाइने निगमका प्रवक्ता मुकुन्द घिमिरेले बताए।

उनी भन्छन्, “हामी एकपटक चाहिं मुल्य स्थिरीकरण कोषमा रकम नराखीकन पनि केही घटाउन सकिन्छ कि भनेर छलफल गर्दैछौं। अधिकतम रुपमा यसपटक मुल्य घटाउने कोशिसमा छौं।”

समायोजन

अब गरिने मुल्य समायोजनमा डिजेलमा धेरै मुल्य कटौती हुने प्रवक्ता घिमिरेले बताए।

“डिजेलमा जति बढी मुल्य घटाउन सकिन्छ त्यति नै बढी जनताले राहत पाउछन्। बजार मुल्य, ढुवानीको साधान देखि लिएर यातायातमा समेत मुल्य घट्छ। पेट्रोलको विक्री पनि कम भएको तर डिजलको अत्याधिक भएकोले गर्दा डिजललाई अलि ध्यान दिने कोशिस गरेका छौं।”

अन्तर्राष्ट्रिय मुल्यसँग समायोजन गर्दै अंग्रेजी महिनाको सुरु र मध्य गरी पन्ध्र, पन्ध्र दिनमा भारतीय आयल निगमले नेपाल आयल निगमलाई तेलको मुल्य सूची पठाउने गर्छ र सोही अनुसार तेलको मुल्यमा घटबढ गर्ने गरिएको छ।

तर अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ निरन्तर ओरालो लागिरहेकाले मूल्य समायोजन थप छिटो छिटो गर्नुपर्ने कतिपय विज्ञहरुको राय छ।

गएको असोज १३ गतेदेखि स्वचालित मुल्य प्रणाली नेपालमा पनि लागू भए पछि पाँच पटक मुल्य समायोजन भइसकेको छ।

उक्त प्रणाली अनुसार पेट्रोलमा ११ रुपैयाँ पचास पैसा र डिजेल र मट्टितेलमा आठ रुपैयाँ घटिसकेको छ। खाना पकाउने ग्यासमा भने अझै घाटा व्यहोर्नु परेकोले अहिले मुल्य नघट्ने निगमले जनाएको छ।