आतंकवाद निर्मूल पार्ने प्रतिबद्धता

  • 17 डिसेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption तालेवानको हमलाले अहिलेसम्मकै ठूलो आक्रमण मानिएको उक्त घटनापछि पाकिस्तानका स्कुलहरुमा शोकसभा गरिएको थियो

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले देशबाट आतंकवादलाई निर्मूल तुल्याउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

मंगलबार पेशावरको एउटा विद्यालयमा गरिएको हमलामा अधिकांश स्कुले विदयार्थीहरुसहित १ सय ४० जना भन्दा बढीको ज्यान गएपछि प्रमुख राजनीतिक पार्टीहरुको एक बैठकमा बोल्दै उनले अब असल वा खराब तालेवानका बीचमा कुनै भेद नगरिने बताए।

पेशावर शहरमा सेनाद्वारा संचालित एउटा विद्यालयमा भएको हमलामा मारिएकाहरुको अन्त्येष्टि गरिएको छ।

पाकिस्तानभर विद्यालयहरु बन्द भएका छन्।

विभत्स

पाकिस्तानमा तीन दिने राष्ट्रिय शोक मनाइंदै गर्दा सेनाले पत्रकारहरुलाई मंगलबार हमला भएको विद्यालय परिसरको भ्रमण गराएको थियो।

त्यहां जताततै जमेका रगतका टाटाहरु, फुटेका सिसा र विद्यालय भवनको भत्केका पर्खालका अवशेषहरु थिए।

विद्यालयको भ्रमणमा गएकी बीबीसीकी मिशाल हुसेन भन्छिन्, सेनाले त्यहांबाट विस्फोटक पदार्थहरु हटाउन रातभर प्रयास गरेको थियो।

त्यहां बालबालिकाहरु बस्ने मेचहरु जताततै पल्टिएको अवस्थामा थिए।

एकता

पाकिस्तानका प्रधानमन्त्री नवाज शरीफले भिन्न भिन्न विचार राख्‍ने देशका मूख्य राजनीतिक दलका शीर्ष नेताहरुसंग एक बैठक गरी आक्रमणकारीहरुलाई उनीहरु विरुद्ध सिंगो देश एकताबद्ध रहेको सन्देश दिने प्रयास गरेका छन् ‌।

प्रधानमन्त्री शरीफले भने, “हामी यो सम्पूर्ण क्षेत्रलाई नै आतंकवादबाट मुक्त गर्न भरपुर प्रयास गरिरहेका छौं। पाकिस्तान मात्रै होइन, अफगानिस्तान मात्रै होइन, समग्र क्षेत्रलाई नै। यसतर्फ हाम्रो पुरा प्रयास जारी छ।"

उनले कार्वाहीका क्रममा उनकै शब्दमा असल तालेवान वा खराब तालेवान भनि भेद नगरिने चेतावनी पनि दिए।

प्रधानमन्त्री शरीफले अनौपचारिक रुपमा मृत्युदण्डको सजायमाथिको प्रतिबन्ध पनि हटाएको घोषणा गरेका छन्।

तर उनको त्यस्तो कदमलाई मानवअधिकारवादी समूहहरुले आलोचना गर्न सक्नेछन्।