‘चुरेक्षेत्रबाट ढुंगा, गिट्टी उत्खनन व्यवस्थित गरिने’

  • 19 डिसेम्बर 2014
Image caption यसअघि वातावरणमा गम्भीर असर परेको भन्दै ढुंगा, गिट्टी निकाल्ने कार्यमा प्रतिबन्ध लगाईएको थियो

वातावरणीय असर नपर्ने गरी चुरेक्षेत्रका नदी प्रणालीहरुबाट ढुंगा, गिट्टी, बालुवा पुनः निकाल्न दिन सकिने तयारी भईरहेको वनमन्त्री महेश आचार्यले बताएका छन्।

विगतमा चुरे क्षेत्रमा अस्वभाविक दोहन भएपछि प्रतिबन्ध लगाउनु परेको र अब भने वातावरणीय असरको अध्ययन र अनुगमनपछि निकाल्न सकिने व्यवस्था गरिएको उनको भनाई छ।

सरकारले चुरे क्षेत्रमा व्यापक रुपले विनाश भएको भन्दै त्यसक्षेत्रलाई संरक्षित क्षेत्रको रुपमा घोषणा गरेर संरक्षणका लागि एउटा शक्तिशाली समिति समेत बनाएको थियो।

त्यसयता चुरेक्षेत्रका नदी प्रणालीहरुबाट ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम समेत बन्द भएको थियो।

अध्ययन

पछिल्ला दिनमा ढुंगा, गिट्टी, बालुवा जस्ता निर्माण सामाग्री नहुँदा विकासका कामहरुले गति लिन नसकिरहेको गुनासो बढ्दै गर्दा मन्त्री आचार्यको पछिल्लो भनाई आएको हो।

उनले भने, “ढुंगा, गिट्टी, बालुवाका निम्ति जिल्ला जिल्लामा भएका अनुगमन समितिहरुले नदी प्रणालीहरु तोकिदिएर त्यहाँ गर्नुपर्ने वातावरणीय अध्ययन समेत गरेर आपूर्तीलाई सुनिश्चित गर्ने दिशातर्फ सरकारको निर्णयहरु निकायहरुसँग समन्वय गर्ने गरी काम भईरहेको छ।”

‍तर त्यसरी निकाल्दा पहिले नै परिमाण निर्धारण गरिने व्यवस्था गरिने उनको भनाई छ।

अनुगमन

जसका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा अन्य विकाससम्बन्धी कार्यालयहरुका प्रतिनिधि समावेश रहेको त्यस्तो अनुगमन समिति समेत बनाईएको हो।

मन्त्री आचार्यले ढुंगा, गिट्टी, बालुवा निकाल्नुअघि नै परिमाण निर्धारण गरिनुपर्ने भन्दै बस्तीहरु जोखिममा नपर्ने गरी त्यसो गरिनुपर्ने बताए।

तर ती सबै कामहरु चुरे संरक्षणका लागि सरकारद्वारा गठन गरिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिसँगको समन्वयमा मात्र हुने उनको भनाई छ।