विवादित प्रतिवेदन बाहिर ल्याउन फिफा राजी

  • 19 डिसेम्बर 2014
garcia तस्वीर कपीराइट Getty
Image caption प्रमुख अनुसन्धानकर्ता माइकल गार्सियाले पूर्ण प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आएका थिए

फुटबलको विश्व प्रशासकीय निकाय फिफाले, आगामी दुईवटा विश्व कप आयोजना स्थल चयन गर्दा भएको भनिएको भ्रष्टाचारका अभियोगहरुबारे तयार पारिएको एक प्रतिवेदनलाई सार्वजनिक गर्न सहमति जनाएको छ।

तर उक्त छानबीन प्रतिवेदनको केही अंश भने सेन्सर गरिने र त्यो केही समयका लागि सार्वजनिक रुपमा उपलब्ध नहुने बताइएको छ।

सहमत

फिफाका अधिकारीहरुले विश्वकप आयोजना सम्बन्धी निर्णय गर्दा भएको भनिएको भ्रष्टाचारका बारे गरिएको छानबीन प्रतिवेदनको कानुनी रुपमा उपयुक्त ठानिएको अंश सार्वजनिक गर्न एकमतले सहमति जनाएका हुन्।

तर फुटबलको विश्व प्रशासकीय निकायले रुस र कतारमा सन् २०१८ र २०२२ मा हुने प्रतियोगिताको आयोजनासम्बन्धी निर्णय कायमै रहने जनाएको छ।

फिफाका अध्यक्ष सेप ब्लाटरले आफूले कार्यकारी कमिटीलाई उक्त छानबीन प्रतिवेदन सार्वजनिक गर्ने पक्षमा मतदान गर्न आग्रह गरेको बताए।

हालसम्म उक्त ४ सय ३० पृष्ठ लामो प्रतिवेदनको विवादित सारांश मात्र प्रकाशित छ।

सारांश

फिफामा भएको भनिएको भ्रष्टाचारको छानबीन प्रमुख अनुसन्धानकर्ता माइकल गार्सीयाले गरेका थिए।

तर उनले फिफाले आफ्नो छानबीनको सारांशलाई सही अर्थ नलाग्ने गरी प्रस्तुत गरेको र फीफाको सदाचार कमिटीप्रति आफ्नो आस्था नरहेको भनी यसै हप्ता राजीनामा दिएका थिए।

उनले प्रकाशित संक्षिप्त स्वरुपका विरुद्ध गरेको अपील खारेज गरिएको थियो।

ती अमेरिकी वकिल माइकल गार्सियाले उक्त प्रतिवेदनको सारांश अपूरो र गल्तीले भरपुर भनेका थिए।

सार्वजनिक गरिने छानबीन प्रतिवेदनको पूर्ण अंशमा साक्षीहरुको पहिचान जोगाउन, ठूलो मात्रामा सेन्सर भएको हुन सक्नेछ, तर त्यो सार्वजनिक गर्ने निर्णयलाई फिफाको नीतिमा आएको परिवर्तनको संकेतको रुपमा पनि हेरिएको छ।

उक्त प्रतिवेदन हाल विभिन्न पांचजना व्यक्तिहरुमाथि जारी अनुसन्धान सम्पन्न भएपछि मात्र सार्वजनिक गरिने भएको छ।

यसअघि फिफाले पूर्ण प्रतिवेदन सार्वजनिक गर्नका लागि त्यसका लेखक गार्सिया र अन्यबाट आएको दबाबलाई झेल्दै आएको थियो।