साइबर हमलामा संयुक्त छानविनको प्रस्ताव

  • 20 डिसेम्बर 2014
film तस्वीर कपीराइट AFP
Image caption दी इन्टरभ्यू नामक यो चलचित्रको प्रदर्शन सोनीले स्थगन गरेको छ

सोनी पिक्चर्समाथि भएको साइबर हमलामा आफ्नो संलग्नता अस्वीकार गर्दै उत्तर कोरियाले त्यसबारे संयुक्त अनुसन्धानका लागि अमेरिकासंग प्रस्ताव गरेको छ।

उत्तर कोरियाली विदेश मन्त्रालयले उसकै शब्दमा अमेरिकाले आधारहीन अफवाहहरु फैलाइरहेको आरोप लगाएको छ।

विवाद

सोनी पिक्चर्सले क्रिसमसको दिन पारेर व्यांग्यात्मक चलचित्र दी इन्टरभ्यू प्रदर्शनमा ल्याउने आफ्नो योजना स्थगित गरेपछि सबैको ध्यान खिचिएको थियो।

उक्त चलचित्रमा उत्तर कोरियाली नेता किम जोंग उनको हत्याको काल्पनिक विषय समेटिएको बताइएको छ।

उक्त चलचित्र प्रदर्शनमा ल्याए हलहरुमा आक्रमण गर्ने चेतावनी एउटा ह्याकर समूहले दिएकाले सोनीले पछिल्लो निर्णय लिएको बताइएको छ।

त्यसअघि सोनी पिक्चर्सको कम्प्युटर प्रणाली, अनधिकृत पहुंच ह्याकको शिकार भएको थियो।

ती पछिल्ला घटनामा उत्तर कोरिया संलग्न रहेको अमेरिकाले आरोप लगाएको छ।

प्रस्ताव

उत्तर कोरियाले भने त्यसमा आफ्नो संलग्नता अस्वीकार गर्दै संयुक्त छानविनको प्रस्ताव गरेको छ।

बीबीसीका कोरिया संवाददाता स्टेफेन इभान्स भन्छन्, “उत्तर कोरियाले भनेको छ यदि अमेरिकाले समन्वय गरेन भने डरलाग्दो परिणाम उत्पन्न हुनेछ। उत्तर कोरियाले आरोपहरु अस्वीकार गरेपनि त्यसले सबैलाई आश्वास्त पार्ने सम्भावना देखिदैन। दक्षिण कोरियामा शरण लिएर बसिरहेका उत्तर कोरियालीहरुका अनुसार सेना अन्तर्गत ब्युरो वान टु वान भन्ने इकाइले विदेशी संस्थाहरुको वेबसाइट ह्याक गर्छ।"

यसैबीच सोनीले उक्त चलचित्र भिन्न माध्यमबाट प्रदर्शनमा ल्याउने सोच आफूले बनाइरहेको जनाएको छ।

पछिल्लो घटनालाई लिएर राष्ट्रपति ओबामाले सोनीको आलोचना गरेपछि उसको उक्त भनाइ आएको छ।

ओबामाले उनकै शब्दमा कोही तानाशाहले अर्को स्थानमा सेन्सर लगाउन नसक्ने भन्दै सोनीले निर्णय लिनुअघि आफूसंग सल्लाह गरेको भए उपयुक्त हुने टिप्पणी गरेका थिए।