'यातायात भाडा भोलिदेखि घट्ने'

  • 22 डिसेम्बर 2014
Image caption ईन्धनको मूल्यमा पाँच रुपैयाँभन्दा बढी कटौती भएपछि सरकारले भाडा समायोजन गर्न लागेको हो

पेट्रोलियम पदार्थको मूल्यमा भारी कटौती भएसँगै सार्वजनिक यातायातको भाडा पनि कम गर्नुपर्ने चर्को माग भइरहेका बेला मंगलबारदेखि लागू हुने गरी भाडादर घटाईने अधिकारीहरुले बताएका छन्।

बस, मिनीबस लगायतका सावारी साधनमा एक प्रतिशत र ढुवानी गर्ने यातायातका साधनमा पौने तीन प्रतिशतसम्म भाडा घटाउन सिफारिस गरिएको बताईएको छ।

यातायातलाई अनुगमन गर्ने निकाय यातायात व्यवस्था विभागले सोमबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयमा नयाँ भाडादरबारे पठाएको प्रस्ताव अनुसार मंगलबारदेखि लागू हुने गरी सार्वजनिक यातायातमा भाडा घटाउन सरकारले तयारी गरेको उक्त मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले बताए।

निर्णय

उनले भने, “सोमबार मन्त्रीज्यूबाट निर्णय हुन्छ, मंगलबार सूचनाको रुपमा सञ्चारमाध्यममा आउँछ र त्यसैदिनदेखि लागू हुन्छ, बस, मिनीबस जस्ता साधनहरुमा एक प्रतिशत भाडा घट्ने देखियो, ढुवानीमा चाहिं तराईमा दुई र पहाडमा पौने तीन प्रतिशतको दरले घट्नुपर्छ।”

सरकारले २०६५ सालमा गठन गरेको वैज्ञानिक भाडादर निर्धारण कार्यदलले सिफारिस गरेको भाडादरको आधारमा हाल विभागले सार्वजनिक यातायातको भाडा निर्धारण गरेको सिटौलाले बताए।

“भाडा घट्बढ् हुनुमा ईन्धनले ३५ प्रतिशत मात्रै भूमिका खेल्छ भनेर हामीले वैज्ञानिक भाडामा निर्धारण गरेका छौं, दोस्रो कुरा पछिल्लो पटक भाडा बढाएको २२ महिना पहिले हो, त्यसबेला डिजलको मुल्य ९८ रुपैयाँ थियो, अहिले ९१ रुपैयाँमा झर्यो, तुलना हुने भनेको पछिल्लो पटक भाडा निर्धारण गर्दाको दर र अहिलेको दर मिलाएर तुलना हुने भएको हुनाले यस्तो भएको हो,” सिटौलाले भने।

भाडामा भएको यो कटौती नाम मात्रको भएको भन्दै कतिपयले आलोचना गरेका छन्।

खर्च

तेलको मूल्य घटे पनि गाडी तथा त्यसको पाटपुर्जा, मर्मत खर्च र मुद्रास्फिति बढेकोले भाडा थोरै घटेको मन्त्रालयको भनाई छ।

असोज १३ गते यता स्वचालित मूल्य प्रणाली अनुसार इन्धनको मूल्य पाँच पटक घटिसकेको भए पनि यातायातको भाडादर भने घटाइएको थिएन।

इन्धनको मूल्यमा पाँच रुपैंया वा त्यो भन्दा माथिको घटबढ भएमात्रै भाडा समायोजन गर्ने यातायात व्यवसायीहरुसँगको सहमति अनुसार यस पटक भाडा समायोजन गर्न लागिएको मन्त्रालयले जनाएको छ।