न्युयोर्कमा दुई प्रहरीको गोली हानी हत्या

  • 21 डिसेम्बर 2014
तस्वीर कपीराइट EPA
Image caption घटनास्थल वरिपरि सुरक्षा व्यवस्था अत्यन्त कडा पारिएको छ

एकजना बन्दुकधारीले न्युयोर्कमा गस्ती गर्ने कारमा बसिरहेका दुईजना प्रहरी अधिकारीहरुको गोली हानी हत्या गरेका छन्।

स्थानीय समयअनुसार शनिबार अपरान्ह उक्त गोलीकाण्ड भएको अधिकारीहरुले बताएका छन्।

गोली लागेपछि दुईजना प्रहरी अधिकारीहरुलाई उपचारका लागि तत्काल अस्पताल पुर्याईएको थियो।

त्यसको केही समयपछि अस्पतालले उनीहरुलाई मृत घोषणा गरेको थियो।

आत्महत्या

गोली हानेपछि संदिग्ध बन्दुधकारी भूमिगत मार्गभित्र भागेका थिए।

त्यहाँ उनले गोली हानी आत्महत्या गरेको अधिकारीहरुले बताएका छन्।

बन्दुकधारी २८ वर्षीय इस्माइल ब्रिन्स्ली भएको बताईएको छ।

दुईजना पुरुष प्रहरी अधिकारीहरुमाथि आक्रमण गरिनुको कारण स्पष्ट हुन सकेको छैन्।

न्युयोर्क प्रहरीका आयुक्त बिल ब्राटोनले प्रहरीहरुले लगाएको पोशाकका कारण उनीहरुमाथि आक्रमण गरिएको बताएका छन्।

उनले भने, "उनीहरुलाई कुनै चेतावनी पनि दिईएको रहेनछ, सीधै उनीहरुको हत्या गरिएको रहेछ।"

तस्वीर कपीराइट Reuters
Image caption न्युयोर्कमा प्रहरीमाथि आक्रमणको अनुसन्धान भइरहेको बताईएको छ

प्रहरीले उक्त क्षेत्रलाई अहिले घेरा हालेको छ र बटुवाहरुलाई हिंड्न रोक लगाईएको छ।

आक्रमण

डेपुटी इन्स्पेक्टर माइकल डेड्डोले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, “कार्यक्षेत्रमा रहेका बेला ब्रुकलिनमा हत्या गरिएका हाम्रा सहकर्मी भाईहरुका लागि हाम्रो प्रार्थना छ।”

तीन वर्षपछि न्युयोर्कमा प्रहरी अधिकारीमाथि आक्रमण गरिएको अधिकारीहरुले बताएका छन्।

यसअघि सन् २०११ मा आक्रमण गरिएको थियो।

न्यायिक प्रक्रियामा सघाउनका लागि गठित समितिहरुले अश्वेत व्यक्तिहरुमाथि गोली चलाउने गोरा जातिका प्रहरी अधिकारीहरुमाथि मुद्दा चलाउन नपर्ने निर्णय सुनाएपछि उत्पन्न तनावका बेला प्रहरी अधिकारीहरुको हत्या भएको हो।

ती समितिहरुको निर्णयपछि देशभर प्रदर्शनहरु भएका थिए भने प्रहरी र अफ्रिकी अमेरिकी समुदायबीच तनाव उत्पन्न भएको थियो।