ट्युनिसियाको राष्ट्रपतीय चुनावमा मतदान

मारजुकी ट्युनिसियाको दक्षिणी क्षेत्रमा लोकप्रिय मानिन्छन्

तस्बिर स्रोत, Reuters

तस्बिरको क्याप्शन,

मारजुकी ट्युनिसियाको दक्षिणी क्षेत्रमा लोकप्रिय मानिन्छन्

ऐतिहासिक रुपमा हेरिएको राष्ट्रपतिय चुनावमा ट्यूनिसियाका जनताले दोस्रो र अन्तिम चरणमा मतदान गरेका छन्।

जीन अबिडिन बेन अलिलाई आन्दोलनबाट हटाएको चार वर्षपछि भइरहेको यो चुनावले लामो संक्रमण अन्त्य गरी प्रजातान्त्रिक मुलुकमा रुपान्तरण गर्ने ठानिएको छ।

उक्त चुनावमा दुई उम्मेद्वारहरु मध्ये एक, अहिलेका अन्तरिम राष्ट्रपति तथा वरिष्ठ मानवअधिकारवादी मनसिफ मारजुकी हुन् भने अर्का ८८ वर्षे बेजी कायड इसेब्सी हुन् जो थुप्रै पूर्ववर्ती सरकारमा पनि थिए।

पहिलो चरणको चुनावमा उनले ३९ प्रतिशत मत प्राप्त गरेका थिए।

निरिक्षण

सन् २०११ देखि अन्तरिम राष्ट्रपति रहेका मारजुकीले मतदान गरेपछि त्यहाँका जनता अन्तरिम काल सकिएर शान्तिपूर्ण अन्त्यमा प्रवेश गरेको भन्दै गौरवान्वित हुनुपर्ने बताए।

अरब स्प्रीङ भनिने आन्दोलन मार्फत् आफ्नो नेतालाई हटाउने ट्युनिसिया पहिलो राष्ट्र हो जसले त्यस क्षेत्रमा अन्य आन्दोलनलाई प्रोत्साहन गरेको थियो।

सुरक्षा फौजले मतदाताहरुको ब्याग र परिचयपत्रको निरिक्षण गरेर मात्रै प्रवेश दिएका थिए।

जिहादीहरुले मतदानलाई बिथोल्ने धम्की दिएपछि अहिले ट्यूनिसियामा सुरक्षाको ठूलो प्रवन्ध गरिएको छ।