एसेब्सी ट्युनिसियाका नयाँ राष्ट्रपति

  • 22 डिसेम्बर 2014
बेइजी काइद एसेब्सी तस्वीर कपीराइट Reuters
Image caption एसेब्सीले राष्ट्रपतीय चुनावमा आफु विजयी भएको दावी गरेका छन्

ट्युनिसियाको निर्वाचन आयोगले वरिष्ठ राजनीतिज्ञ बेइजी काइद एसेब्सीले देशको पहिलो स्वतन्त्र राष्ट्रपतीय चुनावमा बहुमत प्राप्त गरेको जनाएको छ।

यसअघि उनका प्रतिद्वन्द्वी मन्सेफ मार्जुकीले अहिले नै को विजयी भयो भनेर भन्न नसकिने बताएका थिए।

आयोगले एसेब्सीले खसेको कूल मतको ५५ प्रतिशतभन्दा बढी पाएको जनायो।

ट्युनिसियाका नयाँ नेतालाई चार वर्ष अघि भएको अरब विद्रोह पछि देशको धर्मराउँदो अर्थतन्त्रलाई कसरी पुनर्निर्माण गर्ने भन्ने मुख्य चुनौती हुनेछ।

मत सर्वेक्षण

मतदान सकिए लगत्तै गरिएका मत सर्वेक्षणहरुले बेइजी काइद एसेब्सी अगाडि रहेको देखाएपछि उनका समर्थकहरुले राजधानी ट्युनिसका सडकहरुमा खुसियाली मनाएका थिए।

तर उनका मुख्य प्रतिद्वन्द्वी तथा कार्यवाहक राष्ट्रपति मन्सेफ मार्जुकीले अहिले नै कसले जित्यो भनेर भविष्यवाणी गर्नु चाँडै हुने बताएका थिए।

८८ वर्षीय एसेब्सी एकजना चतुर राजनीतिज्ञ हुन्।

उनले संसदको सभामुखको रुपमा तत्कालिन राष्ट्रपति जिन अल अबदिन बेन अलिसंग काम गरेका थिए।

सन् २०११ मा ट्युनिसियाबाट अरब वसन्त पनि भनिने जनविद्रोह शुरु भएपछि अबदिन बन अलिलाई सत्ताच्युत गरिएको थियो।

त्यसपछि बनेको अन्तरिम सरकारमा उनी गृहमन्त्री थिए।

चुनाव

झण्डै ६ दशक अघि ट्युनिसिया फ्रान्सबाट स्वतन्त्र भएयता त्यहाँ गराइएको यो पहिलो स्वतन्त्र चुनाव हो।

पर्यवेक्षकहरुले मतदानमा ठूलो स्तरमा अनियमितताहरु भएको आफुहरुले नपाएको प्रारम्भिक प्रतिवेदनहरुमा जनाएका छन्।

ट्युनिसमा रहेकी बीबीसीकी नवीना कोतुर भन्छिन्, यो चुनाव एउटा ऐतिहासिक उपलब्धि भएपनि नयाँ राष्ट्रपतिसंग उनका पूर्ववर्तीहरुको तुलनामा कम अधिकार हुने कुरा बिर्सन मिल्दैन।

यसै बर्षको शुरुमा पारित नयाँ संविधानले राष्ट्रपतिका अधिकारहरु सीमित गरीदिएको छ।

पेशाले वकील एसेब्सीले सबै देशवासीहरुलाई मिलेर काम गर्न आह्वान गरेका छन्।

उनले आफु राष्ट्रपति भएपछि अर्थतन्त्रमा सुधार ल्याउने तथा देशमा स्थायित्व कायम गर्ने वाचा गरेका छन्।

तर देशका युवाहरुका लागि रोजगारीको सिर्जना तथा शान्ति सुरक्षा सुदृढ गर्ने काम उनका लागि कम चुनौतीपूर्ण हुनेछैन।