क्रिसमस बजारमा भ्यान छिराउँदा दशजना घाइते

  • 23 डिसेम्बर 2014
तस्वीर कपीराइट AFP
Image caption एकदिन अघि मात्र एकजना व्यक्तिले आईतबार सडकपेटीहरुमा कार कुदाउँदा ११ जना घाईते भएका थिए

फ्रान्सको पश्चिमी सहर नान्टस्थित एउटा क्रिसमस बजारमा मानिसहरुले किनमेल गरिरहेका बेला एकजनाले भ्यान छिराउँदा १० जना घाईते भएका छन्।

घाइते पाँचजनाको स्थिति गम्भीर छ।

घटनाको वास्तविक परिस्थितिबारे स्पष्ट हुन सकेको छैन्।

डीजो सहरका सडकपेटीहरुमा एकजनाले कार कुदाएको एक दिनपछि उक्त घटना भएको हो।

आक्रमण

अरेबिक भाषामा ईश्वर महान छन् भन्दै एकजना व्यक्तिले आईतबार सडकपेटीहरुमा कार कुदाउँदा ११ जना घाईते भएका थिए।

त्यसको एकदिन अघि एउटा प्रहरी चौकीमा तीनजना प्रहरी अधिकारीहरुमाथि आक्रमण गर्न खोज्ने चक्कु बोकेका एक व्यक्ति प्रहरी कारवाहीमा मारिएका थिए।

राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले शनिबार र आईतबारको घटनापछि त्यस्ता मानिसहरुमाथि निगरानी राख्न अपिल गरेका छन्।

सर्वसाधारणलाई नआत्तिन उनले आग्रह पनि गरे।

पश्चिमी सहरमा सोमबारको आक्रमण स्थानीय समय अनुसार सांझ ७ बजे भएको अधिकारीहरुले बताएका छन्।

सम्बन्ध

तस्वीर कपीराइट AFP
Image caption राष्ट्रपति फ्रान्स्वाँ ओलान्दले नआत्तिन मानिसहरुलाई आग्रह गरेका छन्

प्रारम्भिक रिपोर्ट अनुसार मदिरा विक्री गरिरहेको स्टलतर्फ भ्यान कुदाईएको थियो।

एकजना व्यापारीलाई उद्धृत एउटा स्थानीय पत्रिकाले जनाएअनुसार खरिद गर्ने र उभिरहेका मानिसहरुतर्फ भ्यान लगिएको थियो।

भ्यान रोकिएपछि चालकले आफैलाई हिर्काएका थिए।

आफ्नै हिर्काईबाट भ्यान चालक गम्भीर घाईते भएको स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ।

आक्रमणको कारण स्पष्ट हुन नसकेको अधिकारीहरुले बताएका छन्।

एकजना बीबीसी सम्वाददाता भन्छन्, "अधिकारीहरुले कुनै धार्मिक माग वा आतंकवादसँग आक्रमणको सम्बन्ध रहेको नदेखिएको बताएका छन्।"