म्याद छोटिदै जाँदा दलहरु आ-आफ्नै धुनमा

  • 23 डिसेम्बर 2014
Image caption चार पक्षीय बैठक बुधबार पुन: ४ बजेबस्ने गरी टुंगिएको नेताहरुले बताएका छन्।

संविधान जारी गर्ने निर्धारित म्याद एक महिना बाँकी रहँदा दलहरुबीच सहमतिका लागि बस्नुपर्ने बैठकहरु लथालिंग बन्न थालेको देखिएको छ।

संविधान सहमतिबाटै जारी गर्ने प्रयास भइरहेको निरन्तर रटान सत्तारुढ दुई घटक र प्रतिपक्षी एकीकृत नेकपा माओवादी दुबै पक्षले लगाइरहँदा सहमति जुटाउने बैठकमा भने उनीहरुको उपस्थितिमा नियमितता देखिएको छैन।

बरु दुबै थरी नेताहरु एकअर्काप्रति कटाक्ष गर्नमा तल्लीन देखिएका छन्।

संविधानका विवादित विषयमा सहमति जुटाउन र संविधानसभामा छलफलमा गइसकेको संवाद समितिको प्रतिवेदनको प्रकृयाबारे छलफल गर्न मंगलबार डाकिएका दुबै बैठकमा दलहरुबीच छलफल हुन नसकेको बताइएको छ।

बेवास्ता

मंगलबार बिहान डाकिएको बैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल पूर्वनिर्धारित समय अगावै बालुवाटार पुगेर तराइकेन्द्रित दलहरुको अनुपस्थितिमा बैठक बस्नुको तुक नहुने भन्दै बाहिर निस्किएपछि साँझ ४ बजे चारै पक्षको बैठक बोलाइएको थियो।

तर उक्त बैठकमा आफूहरुले १ घन्टा भन्दा बढी कुर्दा पनि एमाले अध्यक्ष केपी ओली नआइपुगेपछि विषयवस्तुमा प्रवेशै नगरि बाहिरिएको एकीकृत माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, "अहिलेको परिस्थितिमा सबै पार्टीका शीर्ष नेता हुनुपर्ने भन्ने मान्यता रह्यो। तर केपी कमरेड नआइपुग्नुभएन, उहाँले त कुर्नुस् म आउँछु भन्नुभएकै थियो। तर पनि कति कुर्ने भनेर हामी उठ्यौं, विषयवस्तुमा हामी प्रवेश नै गरेनौं।"

व्यंग्य

प्रधानमन्त्री निवास बालुवाटारमा एमाले अध्यक्ष ओलीको प्रतिक्षा भइरहेका बेला उनी भने बिहानको बैठक नै नबसि बाहिरिएका एमाओवादी अध्यक्ष प्रचण्डको अभिव्यक्तिमाथि अर्को छुट्टै कार्यक्रममा व्यंग्य गर्दै थिए।

ओलीले भने, "संविधान बनाउन खोजियो भने संविधानसभाभित्रै रक्तपात हुन्छ भनिरहेको बेला मित्र शान्त रहु न शान्त भन्नैप-यो। बुरुक्क उफ्रेर राजा महाराजा हौ मलाई आदेश दिने भनेर बाहिरियो, वास्तवमा त्यति नाटकीय मन्चन मैले देखेको छैन, नाटकघरहरुले किन लैजादैनन्।"

उक्त कार्यक्रम केही लम्बिएपछि एमाले अध्यक्ष ओली नपुग्दै यता बालुवाटारको बैठक भने विषयमा प्रवेशै नगरी बुधवार पुन: बस्ने गरी विना निस्कर्ष टुंगिएको नेताहरुले बताएका छन्।