असम हिंसा: थप पाँच हजार सुरक्षाकर्मी परिचालित

  • 26 डिसेम्बर 2014
Image caption असममा हिंसात्मक घट्ना हुँदै आए पनि मंगलवारको घट्नालाई पछिल्ला वर्षकै ठूलो हिंसा ठानिएको छ

गत मंगलवार ७५ जना आदिवासीहरुको हत्या गर्ने आक्रमणकारीहरुको खोजी गर्न भारतको पूर्वोत्तर राज्य असममा थप सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

असमका दुर्गम क्षेत्रहरुमा छुट्टाछुट्टै श्रृँखलाबद्ध आक्रमणहरु गरिएका थिए।

बीबीसी हिन्दीका अनुसार ती आक्रमणहरु बोडो विद्रोही समूहले गराएको थियो।

छानबिन

घटना भएको क्षेत्रमा सैनिक हेलिकप्टरहरु परिचालन गरिएका छन्।

उक्त क्षेत्रको सुरक्षा सुनिश्चित गर्न र आक्रमणमा संलग्नहरुको खोजी गर्नका निम्ति पाँच हजार थप सुरक्षाकर्मीहरु परिचालन गरिएको अधिकारीहरुले बताएका छन्।

केन्द्रीय गृहमन्त्री राजनाथ सिंहले आक्रमणबारे केन्द्रीय अनुसन्धान निकाय एनआईएले छानबिन गर्ने बताए।

उक्त आक्रमणलाई सामान्य मान्न नसकिने भन्दै सिंहले भने, "बोडो विद्रोहीसंग वार्ताको सम्भावना छैन्, अन्य चरमपन्थीहरु जस्तै उनीहरुको पनि सामना गरिने छ।"

महिला/बालबालिका

असममा हिंसाहरु हुँदै आएका छन्।

तर यो साता भएको आक्रमण केही वर्षयताकै सबैभन्दा बढी हिंसात्मक रहेको बताईएको छ।

मंगलबारको आक्रमणमा मारिनेहमध्ये आधाभन्दा बढी महिला तथा बालबालिकाहरु थिए।

Image caption हिंसाको निशाना महिला र बालबालिकालाई बनाइएको थियो

प्रत्यक्षदर्शीहरुका अनुसार, मानिसहरुलाई घरबाट निकाली गोली हानिएको थियो।

'बदला'

भारतीय सरकारले उक्त आक्रमणलाई आतंकवादी कार्यको संज्ञा दिएको छ।

र, घटनामा संलग्न व्यक्तिहरुविरुद्ध कडाईका साथ प्रस्तुत हुने सरकारले चेतावनी दिएको छ।

प्रहरीका अनुसार सुरक्षाकर्मीले गरेको कारबाहीको बदलास्वरुप विद्रोहीहरुले आदिवासीहरुमाथि आक्रमण गरेका हुन्।

सुरक्षाकर्मीको आक्रमणमा लडाकूहरु मारिएका थिए।

बोडो विद्रोही समूहले बोडो आदिवासीका निम्ति छुट्टै राज्यको माग गर्दै आएका छन्।