त्रिदेशीय सहयोगमा छलफल गर्न चीन तयार

  • 26 डिसेम्बर 2014
नेपाली र चिनियाँ विदेश मन्त्री तस्वीर कपीराइट bbc
Image caption चीनका विदेश मन्त्रीले नेपाललाई ९ क्षेत्रमा सहयोग गर्ने प्रस्ताव गरेका छन्

चिनियाँ विदेश मन्त्री वाङ्ग यीले नेपाल, भारत र चीनबीच त्रिदेशीय ढंगबाट हुन सक्ने सहयोगका क्षेत्रबारे छलफल र खोजबिन गर्न आफुहरुले चाहेको बताएका छन्।

तीन दिने भ्रमणमा बिहीबार काठमाण्डौं आइपुगेका चिनियाँ विदेश मन्त्री वाङ्गले शुक्रबार आफ्ना नेपाली समकक्षी परराष्ट्र मन्त्री महेन्द्र पाण्डेसंगको द्विपक्षीय वार्तापश्चात आयोजित संयुक्त पत्रकार सम्मेलनमा तीन देशबीचका सम्बन्धबारे आफ्ना धारणा राखेका हुन्।

केही समय यता नेपालमा भारत र चीन बीच प्रतिस्पर्धा चलेको भन्ने बारे खासगरी पश्चिमा सञ्चार माध्यमले चर्चा गर्ने गरेको भन्दै एक चिनियाँ पत्रकारले प्रश्न सोधेपछि उनले त्रिदेशीय सहयोगको प्रसंग कोट्याए।

“हामी चाहन्छौं नेपालले दुवै छिमेकीसंग राम्रो सम्बन्ध विकसित गरोस्। त्यसो भएमा नेपाल, भारत र चीनबीचको पुल वा कडी बन्न सक्छ। हाम्रो के पनि आशा छ भने मित्रवत सहयोगका सन्दर्भमा नेपाल, चीन र दक्षिण एसियाबीचको पुल बन्न सक्छ। हामी नेपाल, भारत र चीनबीच त्रिदेशीय ढंगबाट हुन सक्ने सहयोगका क्षेत्रबारे छलफल र खोजबिन गर्न पनि चाहन्छौं,” उनले भने।

भारत ‘अनिच्छुक’

खासगरी विगतमा तत्कालीन राजा ज्ञानेन्द्र अनि पछि एकीकृत माओवादीका नेता तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले नेपाललाई विशाल अर्थतन्त्रसहितका दुई छिमेकी बीच पुल बनाउने धारणा प्रस्तुत गरेका थिए।

त्यसबारे भारतीय नीतिनिर्माताहरु उति धेरै उत्सुक सुनिंदैनन्।

करीब दुई वर्ष अगाडि नेपाली पत्रकारहरुको टोलीसंग कुराकानी गर्ने क्रममा तत्कालीन भारतीय विदेश मन्त्री सलमान खुर्शीदले नेपाल, भारत र चीन माझ त्रिदेशीय सहयोगका कुरा गर्नु हतारो हुने प्रतिक्रिया दिएका थिए।

तर शुक्रबार उत्तरी छिमेकीका विदेश मन्त्रीले भने त्रिदेशीय सहयोगका निम्ति आफुहरु तयारै रहेको संकेत गरे।

सहयोग

यसअघि शुक्रबार बसेको दुई देशबीचको औपचारिक कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङ्गले ९ वटा सहयोगका क्षेत्र प्रस्ताव गरे।

तिनमा व्यापार, लगानी, कृषि, पूर्वाधार, विज्ञान तथा प्रविधि, कनेक्टिभिटी वा सम्पर्क सञ्जाल, जनस्तरको सम्बन्ध विस्तार, पर्यटन र सुरक्षा रहेका छन्।

उनले द्विपक्षीय कुराकानीका बेला चीनले १३ अर्ब रुपियाँभन्दा बढीको सहयोग गर्ने पनि बताए।

चीनको सहयोग प्रस्तावलाई आफुहरुले स्वीकार गरेको नेपालका परराष्ट्र मन्त्री महेन्द्र पाण्डेले बताएका छन्।